काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरण धितोपत्र बजारमा आउने भएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरिरहेको अवस्थामा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रिमियममा आईपीओ जारी गर्ने घोषणा गरेको हो ।
कम्पनी आफै पनि सरकारसँग स्वीकृति लिएर सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको थियो । सरकारले बजेटमार्फत नै प्राधिकरणको आईपीओलाई प्राथमिकतामा राखेको छ । प्राधिकरणको पूँजीवृद्धिको स्वीकृति सरकारले दिनुपर्ने व्यवस्था ऐनमा छ । ऐनमा प्राधिकरणको शेयरपूँजी नेपाल सरकारले तोक्ने व्यवस्था छ । हाल प्राधिकरणको चुक्तापूँजी रू. १ खर्ब २ अर्ब ४४ करोड छ ।
विगतमा वार्षिक घाटा र सञ्चित नोक्सानीमा रहेको प्राधिकरण केही वर्षयता नाफामा गएसँगै आईपीओ निष्कासन गर्ने योजनामा पुगेको हो । आर्थिक वर्ष २०७२–०७३ मा रू. ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । प्राधिकरणले उपलब्ध गराएको पछिल्लो वित्तीय तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा रू। १२ अर्ब १२ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्राधिकरणको नाफा रू। ६ अर्ब १८ करोड थियो ।
चालू आवको पहिलो ६ महीनामा सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी नाफा कमाउन प्राधिकरण सफल भएको छ । यस वर्ष विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् विक्रीमा वृद्धि र अन्य आय बढेकाले नाफा उत्साहजनक रहेको प्राधिकरणको भनाइ छ । यो खबर आजको आर्थिक अभियानमा छापिएको छ ।