Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जनगायक टुहुरेको विर्सन नसकिने सम्झना

जनगायक टुहुरेको विर्सन नसकिने सम्झना

भवानी बराल

१५, श्रावण २०७९
जनगायक टुहुरेको विर्सन नसकिने सम्झना
images

जेवीको सम्झनाः
जनगायक जेवी टुहुरे महायात्रामा निस्केको आगामि भदौ १० गते एक वर्ष पुग्दैछ । टुहुरेको स्मृतिमा उनकै जन्म स्थान धरानमा यहि दिन जेवी टुहुरे स्मृति संध्या तथा श्रष्ठा सम्मान कार्यक्रम हुँदैछ । नेपालका ख्याती प्राप्त श्रष्टाहरुको सम्मानसहीत सोही दिन जेवी टुहुरेको सम्झनामा सांगीतिक उत्सव हुनेछ । उनै जनगायकको उच्च मूल्याङ्कन गर्न यी हरफहरु समर्पित छन् ।

हिमाल भन्दा अग्लोः
साम्यवादी साहित्यमा मृत्युलाई हेर्ने बेग्लै दृष्टिकोण छ । पहिलो मृत्यु हो हिमाल भन्दा गरुङ्गो र दोस्रो प्वाँखभन्दा हलुको । जसले जनताको मुक्तिको लागि जिवन अर्पण गर्छ उस्को मृत्यु पहिलो मृत्यु हो । यस्तै मृत्युवरण गरेर गएको ०७८ भाद्र १० गते महायात्रामा निस्केका थिए । जनताका गायक जेवी टुहुरे यस्तो गीत गाउँदै ः

मर्नै पर्छ एकदिन सबैले हामी पनि मर्छों
हामी मर्दा जनताको शीर उठाई मर्छौं ।

आमा दिदीबैनी होः
‘चरी भरर्’ पुस्तिकामा प्रकाशित एकदेव ज्ञावालीद्वारा लिखित ‘आमा दिदीबैनी हो’ बोलको गीतबाट जनपक्षीय सांस्कृतिक फाँटमा उदाएका टुहुरेले कहिल्यै विश्राम लिएनन् । किसान आन्दोलनको जागरण, महिला मुक्ति र जनमुक्तिका असंख्य गीतहरु गाए । उनले गीतमात्र गाएनन् राजनैतिक आन्दोलनमा आफ्नो जीवन नै लगाए । तर उनलाई जिवन्त राख्ने यही आमा दिदी बैनी गीत नै भयो । टुहरे कै संगीत रचना र गायकीमा आएको यो गीत एकदेव ज्ञवालीको कविता हो । तर, कवितालाई पनि उनले गीतमा ढाले । कविता गाउने विरालाकोटीका गायकमा पर्छन जेवी । लाखौं पटक उनलेमात्र गाएको यो गीत कति पटक बज्यो, कति पटक सुनियो, कति पटक अरुले गाए त्यसको लेखाजोखा गर्न सकिन्न । यो गीतको मूलमर्मलाई नभाँची यो गीतको परिमार्जन, थपथाप गरेर यो गीतलाई जनपक्षीय सांस्कृतिक काव्य दर्शन बनाइएको छ । यो गीतलाई उजिल्याउन अर्का जनगायक रामेस श्रेष्ठ र टुहुरेले पहिलो मुखडा यो भाकामा थपेः
आफ्नै पौरख खान्छन
आफ्नै शिपमा बाँच्छन
दुःख कस्ट सहेर
सृष्टी यिनले थाम्छन
असल महान महान व्यक्तिहरु
यिनैले जन्माउँछन
ज्ञानज्ञुण बुद्धिहरु
यिनैले सिकाउँछन
तरपनि अँधेरोमा
जिवन विताउँछन्

यो गीत सुनेर प्रगतिशिल हुँदै वामपन्थी आन्दोलनमा हेलिएकाहरुको कथा सार खिच्न कठीन छ । पूर्वी नेपालको वस्तिहरुबाट गुन्जिएको यो गीतको शंखनादले नेपालको राष्ट्रिय राजनीतिलाई प्रगतिशील घुम्तीमा पु-याउने सेतुको भूमिका खेल्यो भन्दा अन्यथा हुन्न । तर, यसलाई प्रगतिशील सांस्कृतिक दर्शनमा ढाल्न अर्को अन्तरा पनि थपियो । कवि बम देवानले थपेको यो गीतको अन्तिम अन्तरा यस्तो थियो :
सामान्तीको कुचाल हो यो
भ्रष्ट रिती पुँजीको
बुझी सब ब्युँझ अब
ध्वस्त पार्न नारी बन्धन
दुःख अनि जिवनको
युगले आज भन्दछ
नारी पनि मान्छे हो
जाग उठ नारी हो
सिर्जनाको घाम बनेर ।

विश्राम नपाएको गीतः
यो गीत पहिलो पटक धरानको भूतपूर्व सैनिक विश्राम भवनमा टुहुरेले ०३३ सालमा गाएर सार्वजनिक गरेका थिए । कतिपय गीतहरु समयसंगै अप्रसांगिक हुन्छन् । तर विश्राम भवनबाट सार्वजनिक भएको यो गीतले कहिल्यै विश्राम पाएन । अझै कति दशक विश्राम नपाउने हो यकिन छैन । यसअर्थमा यो कालजयी भएको छ । यो गीत जत्तिको लोकप्रियता नेपाली साहित्यमा कुनै गीती साहित्यले आजसम्म पाएको छैन । सदियौंसम्म आमा दिदीबैनीके प्रसंग आउँदा टुहुरे जिवित भएर हाम्रा आँखा अगाडि गाईरहेका नाचिरहेका हुनेछन् ।

मुट्ठी भरलाई स्वर्ग :
हरेकको जिवनमा अन्तरंग साथीहरु हुन्छन् । नेपालको प्रचलित चलनमा ‘मित’ भए जस्तै । टुहरेको जिवनलाई उजिल्याउने सहयोद्धा मध्येका एक थिए, लब प्रधान । उनको टाइटल थियो ‘मित्र’ । तिनै मित्रले टुहुरेको व्यक्तिगत जिवनलाई मात्र भरथेग गरेनन् । टुहरेको सांगितिक यात्राको सारथी पनि बने । उनै मित्रले टुहरेलाई यस्तो गीत रचना गरेर दिए ः
बँशै हिँड्नेको ताँतीले
बस्नेको मन रुहाउँछ
लाखौंको लागि उजाड छ यो देश
मुट्ठी भरलाई त स्वर्गै छ ।

यो गीत रचनाले रुपमा टुहुरेको गायकीमा चाँरचाद मात्र लगाएन, सारमा यो गीतले नेपाली श्रमजिवी जनतामा जागरण पनि ल्यायो । गीतले मुट्ठीभर शोषक सामन्तको विरुद्धमा आम शोषित पीडितको पक्षमा जनवकालत गरेको छ ।

बुद्धले के भन्छन ?
महामानव सिद्धार्थ गौतम बुद्धले निरपेक्ष शान्तिको कुरामात्र गरेका होइनन् । परिवर्तनसहीतको शान्तिको कामना नै बुद्ध दर्शनको मर्म हो । परिवर्तन आफैबाट सुरुवात गर्नु पर्छ भन्ने त बुद्ध दर्शनको प्रारम्भिक कार्यदिशा नै हो । यसैले बुद्धमा सामान्य चेतना आउनासाथ उनले राजपाट त्यागे । बुद्ध दर्शनको मूल्यमा खडेरी लागि रहेको बेला उनकै दर्शनमा आधारित सन्देश दिएर टुहुरेका अनन्य मित्र साहित्यकार बम देवानले यस्तो गीत लेखेर दिएः
छोराहरु हो, छोरीहरु हो
वीर छोरा छोरी हो

आमाले साथ माग्दछिन
माटोले रगत माग्दछ
शान्तिका सन्तान हामी हौं
बुद्धले ब्युँझ भन्दछ ।

सारङ्गीको तारः
नेपाली संगीतलाई उजिल्याउने प्रमुख वाद्यवादन सारङ्गी हो । सारङ्गीले नेपाली गीतसंगीतमा कति योगदान गरेको छ त्यसको मोल छैन । तर यस्तो वाद्यवादनलाई पनि जनताको हितमा प्रयोग गरेर श्र्रष्टाहरुले जनताको मुक्तिको सन्देश र सेवा गरेका छन् । माया पीरतीका रंग न ढंगका गीत संगीतमा अल्मलिएको बाजालाई जनसमक्ष प्रयोगमा ल्याए । यस्तै एउटा गीत सम्भवतः स्व. कवि गोविन्द विकलले रचना गरे । शम्भू राईले संगीत भरे र जेवी टुहरेले गाएः
सारङ्गीको तार रेटी बनाएको धून
त्यै धूनमा रचेको गीत भाईबैनी हो सुन ।

संसारमा आएपछि जुझ्न जान्नु पर्छ
बैरीसंग नडराई भिड्न जान्नु पर्छ
जुझ्ने आँट गर्नेहरुको जीत साथी हुन्छ
संसारमा वीरहरुको हात माथि हुन्छ ।

सोल्टेनीहरु छोड्दैः
सोल्टेनी कान्छी बजारै जाउँ है
पुर्नेको छेकै पारी ।
टुहुरेले रेडियो नेपालमा गाउँ मेलामा पाउने सस्ता सोल्टेनीहरुलाई गीतमा सम्बोधन गरेका थिए । उनको सार्वजनिक गायकी यस्तै सस्ता सोल्टेनीको भाकाबाट सुरुवात भएको थियो । तर जब उनमा चेतना आयो सस्ता सोल्टेनीलाई चटक्कै छोडेर वीर छोरा छोरी र सिर्जनाका घाम आमा दिदीबैनीहरुको मुक्तिको सन्देश लिएर घुमे । कतिपय गायक चेत खुलेर पनि सोल्टेनी मै झमिरहे । उनले भने महान यात्राको पहिलो पाइला चाले । यो ०२७ सालको कुरा हो । किर्तिपुरको अडिटोरियम हलमा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको गीती कार्यक्रममा सामान्तीलाई ललकार्दै एउटा गीत गाएः
किसानको मुटु छामेर हेर क्रान्तिको ज्वाला दन्केकै छ
मजदूरको मुटु छामेर हेर तातो रगत उम्लेकै छ
खेल न सम्झ सामान्ती हो भेल त यहाँ बग्दैछ
होसियार सामान्ती हो ......... ।

टुहुरेको प्रगतिशील पथको प्रस्थान बिन्दू यहि गीतबाट भयो । त्यहाँदेखि उनले फर्केर पनि पछि हेरेनन । अघिअघि गए । उनले छुटेका साथीहरुलाई पनि पर्खेनन् ।

नयाँ लहर हुँदै माओवादीसम्मः
धरानको नयाँ लहर सांगीतिक समूहबाट चेतनशील गीती यात्रामा लागेका टुहरेले संकल्प परिवार, जनसांस्कृतिक मञ्चमा रहेर प्रगतिवादी गीत संगीतमा ठूलो योगदान दिएको विषय यो सानो लेखमा अभिलेख गर्न सम्भव छैन । माले एमालेको राजनीतिमा जिवन विताएका टुहुरेको महायात्रा माओवादीको आँगनमा आएर टुङ्गियो । गीत संगीतको मोर्चालाई सत्ता चढ्ने भरेङमात्र बनाएको तत्कालीन एमालेको गुह्य थाहा पाएपछि दशकौं विताएको पार्टीलाई चटक्कै छाडेर माओवादीमा उनी समाहित भए । माओवादी पार्टीले दोस्रो संविधानसभाको सदस्य बनाएर टुहुरेको मूल्याङ्कन ग-यो । टुहुरेले बेलैमा यो निर्णय नगरेको भए एमालेको ‘गन्धर्व’ मात्र भएको भूमिकामा उनले मृत्युवरण गर्नु पर्दथ्यो ।

जन्म र राजनैतिक जिवनः
मनमोहन अधिकारी नेतृत्वको पूर्व कोशी प्रान्तीय कमिटीबाट बाम राजनीतिमा पाइला सारेका उनी ०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्य बने । कोअर्डिनेशन कमिटी, माले, एमालेहुँदै जिवनको अन्त्यमा पेरीस डाँडा पुगे । विसं २००१ सालमा धरानको पुरानो बजारमा जन्मिएका टुहुरेले नेपाली गीतसंगीतमा नयाँ योगदान दिए । तिन छोरी, एक छोरा र श्रीमतीसहीतको परिवारलाई जनजिविकाको अनेक आरोह पार गर्दै विरालोले बच्चा सारेजस्तै धरान, मधुमल्ला, विराटनगरहुँदै काठमाण्डुमा विश्राम लिए । औपचारिक शिक्षा साढे तीन कक्षामात्र लिएका भएपनि उनमा अत्भूत क्षमता थियो । उनी प्रांगारिक गीत, संगीत गायकीका प्राद्यापक हुन । यस्ता महान उचाइका टुहुरेको क्षतीपूर्ती सम्भव छैन । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - १८:३०:५५ बजे

 

भवानी बराल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology