काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना सकिएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार समानुपातिक मत मंगलबार साँझ गनेर सकिएको हो।
कूल सदर मतको संख्या १ करोड ५ लाख ६० हजार ८२ रहेको आयोगले जनाएको छ। प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा कूल ४७ दल सहभागी भएकामा ७ पार्टीले मात्र थ्रेसहोल्ड कटाएका छन्।
आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन्।
समानुपातिक सांसद चुन्न पाएसँगै ती पार्टीले राष्ट्रिय दलको मान्यता पनि पाएका छन्। राष्ट्रिय दल बन्न प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकको थ्रेसहोल्ड कटाउनुपर्छ।
राष्ट्रिय दल बनेका सात दलमध्ये सबैभन्दा धेरै समानुपातिक मत एमालेले ल्याएको छ। आयोगको तथ्यांकअनुसार उसले २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको हो। दोस्रोमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ समानुपातिक मत ल्याएको छ।
यसैगरी यही चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ११ लाख ३० हजार ३ सय ४४ समानुपातिक मत प्राप्त गरेको छ।
यस्तै राष्ट्रिय दलका मान्यता पाउन सफल राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १४ र जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ समानुपातिक मत प्राप्त गरेको आयोगले जनाएको छ।