काठमाडौं । ब्याटिङमा आसिफ शेख र बलिङमा सन्दीप लामिछाने चम्किएपछि आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि ५२ रनको जित निकालेको छ । यो जितसँगै शीर्ष तीनमा रहदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।
जितको लागि २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २५४ रनमा अल आउट भयो । पिएनजीका नर्मन भानुवा ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनमा रन आउट भए ।
पपुवा न्युगिनीले नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ओपनर टोनी उरा र किप्लिङ डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डोरिगा सिंगल रन लिनेक्रममा दीपेन्द्रको थ्रोमा विकेटकिपर आसिफ शेखबाट रन आउट भए । त्यसपछि भने नेपालले खेलमा सानदार पूनरागमन गरेको थियो ।
ओपनर किप्लिङ डोरिगा ३४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा रन आउट भए । ओपनर टोनी ४४ बलमा ९ चौकासहित ५० रनमा क्याच आउट भए । उरा स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।
दीपेन्द्रसिंह ऐरीको १४ औं ओभरको तेस्रो बलमा सेसे बाउ ३ रनमा सोमपाल कामीबाट स्क्वायर लेगमा क्याच आउट भए । दीपेन्द्रले चाल्र्स अमिनीलाई १४ बलमा बोल्ड आउट गरे । सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरि हिरिलाई ८ रनमा बोल्ड आउट गरे ।
लगत्तै अर्को बलमा चाद सोफर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएपछि सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । ह्याट्रिक बलमा नर्मन भानुवालाई आउट गर्न भने सकेनन् । कुशल मल्लले कप्तान असद भालालाई ४२ रनमा आरिफ शेखबाट क्याच आउट गराए । उनले ५३ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
सन्दीपको बलमा ठूलो सट खेल्न अघि बढेका राइली हेकुरे २० रनमा स्टम्पिङ आउट भए । नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९।१ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भएको थियो ।
नेपालको जितमा ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए । आसिफले १ सय १ बलमा १० चौका र २ छक्कासहित शतक पूरा गरेका थिए ।
आसिफ ३८ औं ओभरको चौथो बलमा सेमो कमियाको बलमा मिडअफबाट राइली हेकुरेबाट क्याच आउट भए ।
ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौकासहित ४५ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा ११० रनको शतकीय साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । हेकुरेकै बलमा ठूलो सट खेलेका कुशल मल्ल दुई रनमा क्याच आउट भए । ज्ञानेन्द्र मल्ल पनि हेकुरेको बलमा असद भालाबाट ११ रनमा क्याच आउट भए ।
चौथो विकेटका लागि रोहित पौडेल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । रोहित ठूलो सट खेल्ने धुनमा ३९ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा रन आउट भए । सन्दीप लामिछाने ७ रनमा आउट भए । आरिफ शेख १५ रनमा आउट भए । भीम सार्की ३८ बलमा ४ चौकासहित ४४ रनमा आउट भए ।
पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमियाले ९.१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् । राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।
नेपालले अव आइतबार युएई, सोमपाल पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । ओडिआई मान्यता सोझै जोगाउन नेपालले अव तीन मध्य एक खेल जित्नुपर्ने हुन्छ ।
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३३ खेलमा ४ मा जित र २८ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।