Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देउराली सहकारीद्वारा ७ अर्ब ठगी, अध्यक्ष चौलागाई पक्राउ

देउराली सहकारीद्वारा ७ अर्ब ठगी, अध्यक्ष चौलागाई पक्राउ

दैनिकी न्यूज

१८, आश्विन २०८०
देउराली सहकारीद्वारा ७ अर्ब ठगी, अध्यक्ष चौलागाई पक्राउ
images

काठमाडौं । सर्वसाधारणको करोडौं रुपियाँ निक्षेप हिनामिना गरेको आरोपमा देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले चौलागाईंलाई मंगलबार साँझ लाजिम्पाटबाट पक्राउ गरेको हो ।

ललितपुरको सातदोबाटोमा रहेको देउराली बहुउद्देश्यीय सहकारीले सर्वसाधारणलाई ठगी गरेको भन्दै अनुसन्धान गर्न सहकारी विभागले सीबीआईलाई गत असारमा पत्राचार गरेको थियो । निक्षेपकर्ताबाट पनि उजुरी परेपछि चौलागाईलाई सीबीआईले खोजी गरिरहेको थियो । लामो समयदेखि फरारका चौलागाईलाई विशेष सुराकीका आधारमा मंगलबार पक्राउ गरिएको सीबीआई प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन ।

स्रोतका अनुसार कांग्रेस नेता गणेश लामालाई भेट्न लाजिम्पाट पुगेका बेला उनलाई सीबीआईको टोलीले पक्राउ गरेको थियो । चौलागाईंले सीबीआईलाई दिएको प्रारम्भिक बयानमा आफूले ४० करोड रुपियाँ जति तिर्न बाँकी रहेको बताएका छन् । तर, उनी ७ अर्ब रुपियाँभन्दा बढीको आर्थिक अपचलनमा मुछिएको स्रोतको भनाइ छ ।

चौलागाईंको समूहले देउराली सहकारीको पाँच वर्षसम्म लेखापरीक्षण र साधारण सभासमेत नगरी सर्वसाधारणबाट ३ अर्बभन्दा बढी रकम संकलन गरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको स्रोतले जनाएको छ । सर्वसाधारणसँग उठाएको रकमले निजी जग्गा खरिद गरेको र त्यसबाट करिब ४ अर्ब रुपियाँ ऋण लिएर अपचलन गरेको आरोपसमेत चौलागाईंमाथि रहेको छ । राजनीतिक शक्ति केन्द्रसँगको सम्बन्धका कारण अनुसन्धानबाट जोगिँदै आएका उनलाई ललितपुर जिल्ला अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको छ ।

काभ्रेको कात्तिके देउरालीका चौलागाईंले २०७१ सालमा देउराली बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरेका थिए । सातदोबाटोमा मुख्य कार्यालय रहेको सहकारीले न्युरोड र भक्तपुरको सूर्यविनायकमा पनि सेवा केन्द्र खोलेर २० हजार जनाभन्दा बढी व्यक्तिबाट रकम संकलन गर्दै आएका थिए । राजनीतिक संरक्षणको आडमा सर्वसाधारण निक्षेपकर्तालाई धम्क्याउने, जग्गा दिन्छु भन्दै लोभ्याउने गर्दै आएका चौलागाई समातिएपछि सर्वसाधारणको रकम अपचलन गर्दै आएको ललितपुरको समेरु बहुउद्देश्यीय सहकारी र काठमाडौं न्युरोडको मिलन बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरूलाई पनि पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई दबाब परेको छ ।

समेरु सहकारीका सञ्चालक भरत महर्जन विदेशतिर भागेको सूचना प्रहरीमा छ । यो खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - ०७:०४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology