काठमाडौँ । चार देशीय महिला टी–२० क्रिकेट श्रृंखलाको तेस्रो स्थानका लागि अहिले नेपाल र जापान भिडिरहेका छन् । हङकङमा जारी प्रतियोगिताको तेस्रो स्थानको लागि नेपाल र जापान भिडिरहेका हुन् ।
जितका लागि नेपालले ११६ रनको चुनौती दिएको छ । खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनायो । ओपनर पूजा महतोले ५१ बलमा ४३ रन जोडिन् । त्यस्तै रोमा थापाले २२ तथा रुबिना क्षेत्रीले २१ रन बनाइन् ।
नेपाल यसअघि आयोजक हङकङ र तान्जिनियासँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । जापानले लिग चरणका सबै तीन खेल हारेको थियो ।
यसअघि नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले तथा दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो । उपाधिका लागि आजै हङकङ र तान्जानिया भिड्दै छन् ।