ललितपुर । ‘समाज परिवर्तनको मुख्य आधार, महिला सहभागीता र स्वरोजगार' भन्ने नारासहित स्थापना गरिएको नमुना गाउँ महिला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १२ ओैं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ शंखुमा रहेको उक्त सहकारीको पौष २८ गते शनिबार साधारणसभा सम्पन्न भएको हो । २०६८ साल श्रावण १० गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई दुग्ध उत्पादन संकलन र बिक्री गर्दै आईरहेको सहकारी वास्तवमै नमुना सहकारीको रूपमा रहेको छ ।
कागजमा दुग्ध उत्पादक सहकारी र व्यवहारमा ठेक्कादारी प्रथाको बिरुद्ध बिद्रोह गर्दै तत्कालीन स्थापना कालमा लामो सङ्घर्षगर्दै सञ्चालित महिला दुग्ध उत्पादक सहकारी स्थापनाका हिसाबले जिल्लाकै पहिलो र राष्ट्रकै अग्रपंक्तिमा रहेको छ ।
पुर्ण रूपमा सहकारी पद्धतिमा सञ्चालित यस सहकारी संस्थाका सेयर सदस्यलाई सामुहिकतामा एकता भन्ने भावनाको विकास गराएको छ ।
आधा आकाश ढाक्ने महिलाहरू पुरुषप्रधान देशमा महिलाले पनि पुरुषले सरह समाजमा केही उदाहरणीय काम गरि महिलाको दक्षता र क्षमता देखाउनुपर्छ भन्ने उद्देश्यले चुला चम्काबाट निस्केर समाजमा उदाहरणीय काम गरि देखाउन सफल भएको छ ।
आर्थिक रूपमा पनि सक्षम हुन सफल उक्त महिला सहकारीको वास्तवमै एउटा उदाहरणीय सहकारी बन्न सफल रहेको छ। सहकारीमा महिलाहरु स्वयं दुग्ध बिक्री गर्न जाने, दुधको दैनिक हिसाब राख्ने, दुध खरिद र बिक्रीको मूल्य निर्धारण गर्ने, कृषि तथा घरायसी सरसामान खरिद तथा बिक्री गर्ने, कोष निर्धारण गर्नेजस्ता काम गर्न र लाभांश वितरण तथा हिसाबकिताब गरि आफ्नो दूधको रकम लिन स्वयं सक्षम हुन यसको राम्रो र सकरात्मक पाटो रहेको छ।
कार्यक्रमको सभाध्यक्षता संस्थाको अध्यक्ष मन्दिरा बजगाईले गरेको साधारणसभामा प्रमुख अतिथिका रूपमा कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरे र २ नम्बर वडाका वडा सदस्य रामप्रसाद घिमिरे र दुग्ध व्यवसायी दिपक संजेलको आतिथ्यता रहेको कार्यक्रम सुनिता घिमिरेले सञ्चालन गरेको थियो भने संस्थाका उपाध्यक्ष सीता सञ्जेलले स्वागत मन्तव्य राखेका थिइन भने कोषाध्यक्ष सुभद्रा घिमिरेले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिन्।
संस्थाको बाह्रौं साधारणसभाबाट आगामी ४ बर्षको लागि मन्दिरा बजगाई अध्यक्षमा सर्वम्मत निर्वाचित भएकी छिन् भने उपाध्यक्ष अम्बिका घिमिरे, सचिव कल्पना बजगाई, कोषाध्यक्ष सुभद्रा घिमिरे , सदस्यमा रिता तिमल्सिना घिमिरे, सावित्री संजेल, लक्ष्मी दाहाल, शारदा घिमिरे, पिपलकुमारी संजेल र लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा सीता संजेल, सदस्यमा कबिता बजगाई र धनकुमारी संजेल निर्विरोध रुपमा चयन भएका छन् ।
हाल संस्थाका सदस्य २० घर परिवारले उत्पादन गरेको दैनिक ४०० लिटर दूध सहकारीमा संकलन भई काठमाडौं उपत्यकामा बिक्री गर्न व्यवसायी तथा ललितपुर लिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मार्पmत बजारीकरण भै रहेको छ । संस्थाले सदस्यहरूलाई कृषि अनुदान, सहुलियत ऋण, कृषि यान्त्रिकरण अनुदानमा जस्ता कार्यक्रम तथा तालिम दिईरहेको छ ।
हाल सहकारीले २ जनालाई रोजगार दिएको छ भने सहकारी स्थापनापछि निर्वाहमुखी कृषि पेशालाई व्यवसायीकरणपछि सदस्य तथा कृषकको आम्दानीको बढेको छ ।
संस्थाको बाह्रौं साधारणसभामा आ.व. २०७९–८० मा 'पाडापाडी हुर्काउ, लैनौ बनाउ' कार्यक्रम अनुसार संस्थाको ३ जनाले पुरस्कार प्राप्त गरे । सबैभन्दा बढी दुध बेच्ने ३ जनालाई संस्थाले बाह्रौं साधारणसभामा पुरस्कृत गरेको थियो भने सदस्य किसानहरूको पशु क्षति नभएकोले त्यस कार्यक्रम अनुसार दिईने राहत दिनु परेन ।
