ललितपुर । जापान सरकारको सहयोगमा निर्मित सुविधा सम्पन्न महिला छात्रावास भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ।
नेपालका लागि जापानी राजदूत किकुता यूताकाले ललितपुरको बागमती गाउँपालिका वाड नं. २ माल्टाको कालीदेवी माध्यमिक विद्यालयमा नवनिर्मित सुविधा सम्पन्न छात्रावास भवन हिजो (सोमबार) विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरेका हुन् ।
जापान सरकारको ‘ग्रासरूट ह्युमान सेक्युरिटी प्रोजेक्टर’ (सीजीपी) अन्तर्गत दुई करोड पाँच लाखको लागतमा सुविधासम्पन्न छात्रावास निर्माण गरिएको राजदूत युताकाले बताए।

छात्रावास हस्तान्तरण गर्दै राजदूत यूताकाले छात्रावास निर्माण कार्यमा संलग्न सबैको प्रयासको प्रशंसा गरे। उनले छात्रावास निर्माण भइसकेपछि लामो दूरी तय गरेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे।
'मेरो तीन वर्ष ९ महिनाको कार्यकाल पूरा गरेर केही दिनमा जापान फर्किंदैछु, यो छात्रावास भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न पाएकोमा म ज्यादै हर्सित छु, यसले यहाँका विद्यार्थीहरुको सुन्दर भविष्य निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने मेरो विश्वास छ।' यूताकाले भने ।
नवनिर्मित छात्रावासले पठनपाठनका लागि अनुकूल वातावरण निर्माण गर्ने राजदूत किकुताको भनाइ थियो। उनले भूकम्पपछि क्षतिग्रस्त भएका विद्यालयको कक्षाकोठा पनि जापान सरकारको सहयोगले पुनर्निर्माण गरिएको उल्लेख गरे।

राजदूत किकुताले नवनिर्मित छात्रवास भवनको संरक्षणका लागि विद्यालय व्यवस्थापनका साथै स्थानीयवासी गम्भीर भएर लाग्ने विश्वास समेत व्यक्त गरे। उनले नेपाली समाजको विकास र नेपाल–जापानबीचको सम्बन्ध स्थापित गर्ने गरी अगाडि बढ्न विद्यालयका विद्यार्थीहरूलाई आग्रह गरे ।

बागमती गाउँपालिका उपाध्यक्ष भक्तबहादुर दर्लामीले जापान सरकार र राजदूतावासले पुर्याएको योगदान चीरस्मरणीय हुने बताए । छात्रावासको निर्माणले यहाँ बसोबास गर्ने छात्राहरुको अध्ययन र जीवनस्तरमा उल्लेखनीय सुधानर आउने दर्लामीको भनाइ छ । छात्रावास बागमती गाउँपालिकाको पहिलो भएको र यसको निर्माणबाट २÷४ घण्टा हिडेर विद्यालय आउनु पर्ने अवस्थाको अन्त्य भएको दर्लामीले बताए ।
श्रीकाली देवी माध्यमिक विद्यालय १९६२ मा स्थापना भएको हो । यो विद्यालयमा करिब ३५० विद्यार्थीहरू अध्ययन गर्छन् ।