काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले किर्तिपुर नगरपालिकाको मेयर पदमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट उम्मेदवार बनाएको छ । किर्तिपुरको मेयर पदको लागि दीपक महर्जन (हनी) र वडा नम्बर ४ को वडाध्यक्षमा राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएर चुनावी प्रचारप्रसारमा लागेका छन् । मेयर पदमा भोट माग्दै प्रचार प्रसारमा लागेका उम्मेदवार दीपक महर्जन (हनी) सँग गरेको कुराकानीको अंश ः
सर्वप्रथम त म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट उम्मेदवार बन्न पाएकोमा खुशी छु । यो समुदाय मात्रै नभएर सबैको आवाज मैले उठाउँछु । चुनाव तथा अन्य कार्यक्रमलाई सफल पार्नको लागि हामीले कीर्तिपुरमा समर्पण सभ्य नेपाल स्थापना गरेर अघि बढिरहेका छौं । यसले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको हितमा बढी काम गर्दै आइरहेको छ ।
मैले मेरो मुख्य चुनावी अजेण्डामा बालबालिकाको शिक्षा, स्वास्थ्य तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका पछिल्ला समस्याहरु केके छन् ती विषयलाई अघि सारेको छु । अर्कोकुरा हाम्रो समुदायमा बालबालिकाहरूले विभिन्न खालका हिंसा खेपिरहेका छन् उनीहरुलाई हिंसामुक्त समाज निर्माण हामीले गर्नुपर्छ । स्कुलमा दिनहुँ दुर्व्यवहारका घटना पनि भइरहेको सुनिन्छ । यसलाई बन्द गर्ने अवस्था सिर्जना गर्नुपर्छ । त्यस्तै, शिक्षामा सबै बालबालिकाको पहुँच वृद्धि गर्न जरुरी छ ।
हामीले बालबालिकाको शिक्षालाई अग्रपंक्तिमा राखेका छौं । किर्तिपुर नगरपालिकामा शिक्षाका अतिरिक्त, स्वास्थ्य र रोजगारीका क्षेत्रमा पनि काम गर्नुपर्छ । यो क्षेत्रका रहेक विषयमा काम गर्न हामी प्रतिवद्ध छौं । यहाँको ऐतिहासिक, धार्मिक र पर्यटकीय विकासमा पनि थप काम गर्नुपर्छ । त्यसको लागि हामीले चुनावी अजेण्डा तय गरेका छौं । त्यस्तै वृद्धवृद्धाहरुलाई दिइने प्रशासनिक सुविधा घरबाटै दिनुपर्छ भन्ने हाम्रो योजना छ । पछि परेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिको आवाज बुलंद गर्ने र उनीहरुका समस्या समाधान गर्ने हाम्रो योजना छ ।