Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर लक्ष्मीपूजा, घरघरमा झिलीमिली दीपावली

आज देशभर लक्ष्मीपूजा, घरघरमा झिलीमिली दीपावली

दैनिकी न्यूज

३, कार्तिक २०८२
आज देशभर लक्ष्मीपूजा, घरघरमा झिलीमिली दीपावली
images

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर ऐश्वर्य र सम्पन्नताको प्रतीक देवी लक्ष्मीको आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।

आज बिहानैदेखि घर–आँगनमा सरसफाइ, लिपपोत र सजावट गर्ने क्रम चलेको छ । विश्वास छ— सफा र उज्यालो घरमै लक्ष्मी बास गर्छिन्, त्यसैले आज झ्याल, ढोका, कोठा, सङ्घारदेखि अटाली र भर्याङसम्म दीपावली गरी देवीलाई आमन्त्रण गरिन्छ ।

कार्तिक कृष्ण औँसीको यो रात सुखरात्रीका रूपमा पनि चिनिन्छ । पूजाका लागि आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म गाईको गोबर र रातो माटोले बाटो बनाई चामलको पीठो र अबिरले लक्ष्मीका पाइला कोरिन्छ । त्यस बाटोमा दीप प्रज्वलन गरी झिलीमिली दृश्य सिर्जना गरिन्छ ।

सन्ध्याकालमा दियो, कलश, गणेश, गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । त्यसपछि छोरी–चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने परम्परा रहँदै आएको छ ।

धार्मिक विश्वासअनुसार लक्ष्मीपूजा पछि घरबाट धन वा मूल्यवान वस्तु बाहिर पठाउनु अशुभ मानिन्छ । मध्यरातमा घरकी नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मीको आगमन होस्’ भन्ने कामना गर्ने शास्त्रीय विधि समेत प्रचलित छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, लक्ष्मीपूजाको यो दिन समृद्धिको कामना गर्दै ‘अलक्ष्मी’लाई टाढा राख्ने संस्कारको प्रतीक हो ।

आज बेलुका युवती समूह बनाएर घर–घरमा भैलो खेल्ने चलन पनि छ । पुराण अनुसार भगवान् विष्णुले यमपञ्चकका पाँच दिन बलिराजालाई तीनै लोकको शासन गर्ने वरदान दिँदा उनले “भलो होस्” भनी गाउन लगाएका थिए, जसको अपभ्रंश शब्द ‘भैलो’ भएको मानिन्छ ।

भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने चलन छ । कात्तिक महिनाको दान शुभ मानिने भएकाले भैलोमा दान दिनाले पुण्य प्राप्त हुने विश्वास गरिएको छ ।

आज राजधानीका गल्ली–गल्लीदेखि गाउँघरसम्म दीपावलीको झिलिमिली देखिएको छ । कतिपय ठाउँमा परम्पराअनुसार आजै बिहान गाईको पूजा पनि गरिएको छ, यद्यपि धर्मशास्त्र अनुसार कार्तिक शुक्ल प्रतिपदाबाट मात्र गाईपूजा गर्नुपर्ने उल्लेख पाइन्छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८२ सोमवार - ०९:५७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology