Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

दैनिकी न्यूज

२, मंसिर २०८२
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा
images

काठमाडौँ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृहरूको सद्गतिको कामनासहित मनाइने बाला चतुर्दशी मेला आज पशुपति क्षेत्रमा सुरु हुँदैछ। पितृका नाममा बत्ती बाल्न बिहानैदेखि नै भक्तजनहरू पशुपति क्षेत्रमा भीडिन्छन्। त्रयोदशीको रातभर अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृहरूको चिर–शान्तिको कामना गर्दै शतबीज छर्ने परम्परा छ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। जाडोको मौसमलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले पाल तथा अन्य आवश्यक व्यवस्थाहरू मिलाएको जनाएको छ।

बालाचतुर्दशीका दिन भक्तजनले १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर लगायत विभिन्न तीर्थस्थलमा शतबीज छर्ने गर्छन्। शतबीज भनिए पनि हाल सप्तबीज—धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो—छर्ने प्रचलन छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार शतबीजको मन्तव्य हेमाद्रि धर्मग्रन्थमा वर्णित धानका सय दानाहरू हो। शिवजीले मृगरूपमा विहार गरेको स्थान मृगस्थलीमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य प्राप्त हुने विश्वास गरिन्छ।

बाला चतुर्दशीसँग विभिन्न धार्मिक कथा जोडिएका छन्। यिनमध्ये एक कथाअनुसार पार्वतीले शिवलाई मृगरूपमा चिन्न विभिन्न बीज छरेकी थिइन्। अर्को कथामा ‘बालानन्द’ नामक व्यक्तिको व्यवहारबाट उत्पन्न बालासुर कथा पनि चर्चा गरिन्छ, जसको मोक्षका लागि वृषसिंहलाई शिवले शतबीज छर्न आदेश दिएको जनविश्वास छ।

धर्मशास्त्रविद्हरूको भनाइमा माता–पिता दिवङ्गत भई एक वर्ष नपुगेका व्यक्तिले यस दिन दीपदान वा शतबीज रोपण गर्नु हुँदैन। धर्मसिन्धु ग्रन्थअनुसार बरखी भइसकेका व्यक्तिले पनि शिवको नाम लिन नहुने उल्लेख छ। यस अवसरमा पशुपतितुल्य तीर्थ वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने धार्मिक विधान रहेको बताइन्छ।

images
प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - ०९:२१:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology