Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आयुर्वेद स्वास्थ्यकर्मीलाई विपद् व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम

आयुर्वेद स्वास्थ्यकर्मीलाई विपद् व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम

दैनिकी न्यूज

१३, जेठ २०८३
आयुर्वेद स्वास्थ्यकर्मीलाई विपद् व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम
images

ललितपुर । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरको आयोजनामा आयुर्वेद स्वास्थ्यकर्मीहरुका लागि विपद् व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. १४ को भवनमा शनिबार आयोजित तालिममा जनस्वास्थ्य विज्ञ सागर दाहालले सहजीकरण गरेका थिए । कार्यक्रममा भूकम्प, आगलागी, बाढी, पहिरो लगायतका विपद्का समयमा अपनाउनुपर्ने सावधानी, जोखिम न्यूनीकरणका उपाय तथा आपतकालीन प्रतिकार्य सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

तालिममा विपद् आउनुअघि गरिने जोखिम पहिचान, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापन, विपद्को समयमा प्रभावकारी समन्वय तथा विपद्पछि पुनर्लाभ र पुनर्निर्माणका प्रक्रियाबारे विस्तृत जानकारी गराइएको थियो । साथै, विपद्का कारण विस्थापित भएका परिवारलाई सामाजिक तथा आर्थिक रुपमा पुनःस्थापित गर्न स्वास्थ्यकर्मीहरुले खेल्न सक्ने भूमिकाबारे पनि छलफल गरिएको थियो ।

जनस्वास्थ्य विज्ञ दाहालले विपद्को समयमा स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आपतकालीन अवस्थालाई सामना गर्न पूर्वतयारी र शीघ्र निर्णय क्षमता आवश्यक पर्ने बताए । उनले समुदायस्तरमा सचेतना अभिवृद्धि, प्राथमिक उपचार सेवा तथा मानसिक स्वास्थ्य सहयोगलाई पनि विपद् व्यवस्थापनको महत्वपूर्ण पक्षका रुपमा लिनुपर्ने बताए ।

तालिमको मुख्य उद्देश्य स्वास्थ्यकर्मीहरुलाई विपद्को समयमा हुने जनधनको क्षति न्यूनीकरण गर्न, तत्काल प्रभावकारी निर्णय लिन तथा आपतकालीन अवस्थामा समन्वयात्मक ढंगले काम गर्न सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरका कार्यालय प्रमुख डा. पुनम नेपालका अनुसार तालिममा २५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । उनले यस्ता तालिमले स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी थिइन् ।

images
प्रकाशित मिति :जेठ १३, २०८३ बुधवार - ०६:५८:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology