काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज कात्तिक ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ।
यसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता सेयर छुट्याइएको छ। यो कम्पनीको जारी पुँजीको १० प्रतिशत हो।
स्थानीयका लागि छुट्याइएको सेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख १४ हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दाले पाउनेछन्। यसमा दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका–२, ३ र ४ का बासिन्दा समेटिएका छन्।
बाँकी ४० प्रतिशत अर्थात् ६ लाख ७६ हजार कित्ता सेयर बिगु र कालिञ्चोक गाउँपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ।
कति कित्तासम्म आवेदन दिन पाइन्छ ?
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा कात्तिक २५ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन्। मागअनुसार छिटोमा आवेदन बन्द हुन सक्ने व्यवस्था गरिएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिने समय तोकिएको छ।
कहाँबाट दिने आवेदन ?
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखाबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखाबाट पनि आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।