Logo

आइतवार, श्रावण २४ गते २०८३

images

१० जना स्वास्थ्यकर्मी संक्रमित, थपिँदै संक्रमित स्वास्थ्यकर्मीको संख्या

१० जना स्वास्थ्यकर्मी संक्रमित, थपिँदै संक्रमित स्वास्थ्यकर्मीको संख्या

दैनिकी न्यूज

१४, जेठ २०७७
१० जना स्वास्थ्यकर्मी संक्रमित, थपिँदै संक्रमित स्वास्थ्यकर्मीको संख्या
images

काठमाडौँ, जेठ १४ । सुरक्षा सामग्रीको कमजोर व्यवस्थापनका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढ्दै गएको छ । मुलुकभर चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी १० जना संक्रमित भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये दुई जना चिकित्सक, ६ जना नर्स र दुई जना अहेव छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट कन्ट्याक्ट ट्रेसिङमा खटिएका र नेपाली सेनाका गरी दुई चिकित्सकमा संक्रमण देखिएको हो । दुवै अहिले बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा छन् । संक्रमित नर्समध्ये एक जना उनी कार्यरत बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालकै आइसोलेसनमा छिन् । त्यस्तै, धनकुटाका संक्रमित दुई नर्स र दुई जना अहेव कोसी अस्पतालको आइसोलेसनमा छन् । अर्की एक संक्रमित नर्सको उनी कार्यरत वीरगन्जको नारायणी अस्पतालमै उपचार भइरहेको छ ।

स्वास्थ्यकर्मी आफैं संक्रमित भएका घटना कोरोना संक्रमित धेरै भएका मुलुकका लागि नौलो होइन । सक्दो सावधानी अपनाउँदा–अपनाउँदै नर्सलाई संक्रमण सरेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए । ‘नर्स संक्रमित भएपछि अन्य कर्मचारी त्रसित छन्,’ उनले भने, ‘सुरक्षा सामग्री र क्वारेन्टाइनका लागि होटलको व्यवस्था भने गरेका छौं ।’ सरकारले दिएको सुरक्षित स्वास्थ्य सामग्रीहरू (पीपीई, मास्क, पन्जालगायत) अपुग भएपछि विभिन्न संघसंस्था र व्यवसायीले दिएको सहयोगका भरमा काम चलाइरहेको उनले बताए ।

स्वास्थ्यकर्मीसमेत संक्रमित हुनुले अस्पतालमा स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थापन कमजोर भएको बुझिने नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले बताए । चिकित्सकलाई सुरक्षा सामग्री र तालिमको कमी भइरहेको उनको भनाइ छ । काम गर्ने संस्थाले सामग्री नदिएको गुनासो बढेपछि संघले आफैं मास्क किनेर चिकित्सकहरूलाई बाँडिरहेको छ । ‘चिकित्सक संक्रमित हुनु या जोखिममा पर्नु भनेको अस्पताल नै जोखिममा पर्नु हो,’ उनले भने, ‘अस्पताल नै सिल गर्नु समाधान होइन । स्वास्थ्यकर्मी सुरक्षित बनाए भोलि बिरामीले उपचार नपाउने स्थितिबाट जोगिन सकिन्छ ।’ सरकारले सक्दो चाँडो सबै निकायसँग समन्वय गरेर महामारीविरुद्ध लड्न तयार हुनुपर्ने उनले सुझाए ।

कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - ०५:५७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology