Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कुल उत्पादनको १० प्रतिशत तरकारी बजार जान सकेन

कुल उत्पादनको १० प्रतिशत तरकारी बजार जान सकेन

दैनिकी न्यूज

२६, जेठ २०७७
कुल उत्पादनको १० प्रतिशत तरकारी बजार जान सकेन
images

काठमाडौँ । अहिले नेपालमा उत्पादन हुने तरकारीले खपत हुन सकिरहेको छैन । बन्दाबन्दीका कारण ढुवानीमा संयोजन चुस्त बन्न नसक्दा नेपालमा उत्पादन भएको तरकारीे १० प्रतिशत खेर जाने गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा ४२ लाख ७१ हजार २७० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ तर नेपालमा वार्षिक झन्डै ४४ लाख मेट्रिक टन तरकारी खपत हुने गरेको छ अर्थात् भारतलगायत अन्य देशबाट १४ देखि १५ लाख मेट्रिक टन तरकारी आयात हुने गरेको आलु तरकारी तथा मसला बाली निर्देशनालयले जनाएको छ । नेपालले पनि २२ देखि २५ हजार मेट्रिक टन तरकारी वार्षिक निर्यात गर्ने गरेको निर्देशनालयका निर्देशक कृष्ण पौडेलले बताउनुभयो ।
तर अहिले नेपालमा भारतलगायत अन्य देशबाट तरकारी आयात गर्ने अवस्था छैन । नेपालमै उत्पादन भएको तरकारी खपत हुन सकिरहेको छैन । बन्दाबन्दीका कारण तरकारी खपत हुने ४० प्रतिशत बजार समाप्त भएको छ । त्यसले गर्दा नेपालकै तरकारी पर्याप्त रहेको छ । यो बन्दाबन्दीमा देशभरि दैनिक तीन हजार १७० मेट्रिक टन तरकारी खपत हुने गरेको छ । त्यसमा ३० प्रतिशत मात्र भारतबाट आएका तरकारी हुन् । अहिले भारतबाट आउने तरकारी पनि नेपाली व्यापारीले ल्याइरहेका छैनन् । नेपालमा रहेका भारतीय व्यापारीले मात्र भारतबाट मगाइरहेका छन् जो अहिलेको अवस्थामा नेपालमा आवश्यक नै नरहेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरे बताउनुभयो ।
अहिले नेपालमै पर्याप्त तरकारी छ । बरु भारतबाट आउने तरकारी महँगो हुन्छ तर नेपालको तरकारी अहिले निकै सस्तो रहेको उहाँले बताउनुभयो । नेपालमा उत्पादन भएको सबै तरकारी खपत भएको छैन । १० प्रतिशत तरकारी त्यतिकै खेर गइरहेको छ । लकडाउनअघि भारतबाट ४० प्रतिशत तरकारी कालीमाटी तरकारी बजारमा आउँथ्यो अहिले १७–१८ प्रतिशतमा झरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बन्दाबन्दी सुरु भएपछि जेठ १ गतेसम्म २२ देखि २३ प्रतिशत तरकारी भारतबाट आएको थियो । अहिले १७–१८ प्रतिशतमा झरेको उहाँले बताउनुभयो । अहिले भारतबाट तरकारी नआए पनि नेपालको तरकारीले नै पुग्ने रहेछ तैपनि आलु, प्याज, लसुन, कागतीजस्ता तरकारीजन्य वस्तु भारतबाट केही व्यापारीले ल्याउने गरेका छन्, उहाँले बताउनुभयो ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा कुल खेतीयोग्य जमिनको ७।३ प्रतिशतमा तरकारी खेती हुने गरेको छ । यो देशको कुल गार्हस्थ उत्पादनको ८।८ प्रतिशत हो । आलु तरकारी तथा मसला बाली निर्देशनालयका अनुसार कुल कृषियोग्य जमिनमध्ये दुई लाख ९७ हजार १९५ हेक्टर क्षेत्रमा तरकारी खेती गरिन्छ । गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - ०७:३९:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology