Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कर विवादमा सर्वोच्च ‘बन्दाबन्दीपछि ३० दिनको समय दिनू’

कर विवादमा सर्वोच्च ‘बन्दाबन्दीपछि ३० दिनको समय दिनू’

दैनिकी न्यूज

३०, जेठ २०७७
कर विवादमा सर्वोच्च ‘बन्दाबन्दीपछि ३० दिनको समय दिनू’
images

काठमाडौँ । सर्वोच्च अदालतले बन्दाबन्दीपछि ३० दिनभित्र कर तिर्ने समय प्रदान गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनीलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि जारी सूचना कार्यान्वयन नगर्न अन्तरिम बुधबार आदेश जारी गरेको हो । त्यसको लिखित भने बिहीबार मात्र सार्वजनिक भएको हो ।
अदालतले असार ७ र १५ गतेसम्म सबै करका विवरण बुझाउन जारी गरेको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश गरेको हो । थानेश्वर काफ्लेलगायतले सरकारको निर्णयविरुद्ध रिट दर्ता गराउनु भएको थियो । आदेशपछि कर बुझाउनका लागि व्यवसायीले केही समय राहत पाएका छन् ।
सरकारले वार्षिक बजेट प्रस्तुत गरेसँगै जेठ २५ गतेसम्म कर तिर्न सूचना जारी गरेको थियो । उक्त सूचनाको विरोध भएपछि सरकारले पुनः असार ७ र १५ गतेसम्म कर तिर्न सक्ने गरी अर्को सूचना जारी गरेको थियो । उक्त सूचनाउपर सर्वोच्चमा रिट दायर भएको थियो । रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘‘नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागबाट २०७७ असार ७ र १५ गतेभित्र कर तथा विवरण बुझाउने सम्बन्धमा भनी जारी भएको सूचनामा बन्दाबन्दीको अवधिसम्म कार्यान्वयन नगरी बन्दाबन्दी पूर्ण रूपमा खुलेपश्चात बाटोको म्यादबाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु । बन्दाबन्दीपश्चात् पनि केही अवधिसम्म सामाजिक दूरी लगायत अन्य विभिन्न सुरक्षित रहने उपाय अवलम्बन गर्नुपर्ने अवस्था परिस्थितिलाई विचार गरी विवरण र कर राजस्व दाखिल गर्ने प्रक्रिया र कार्यविधिलाई सरलीकृत गर्नू । ’’
यस्तै, अदालतले बन्दाबन्दीको पूर्ण रूपमा खुलेपश्चात् पुनः नयाँ परिस्थिति सिर्जना भई देशको खास क्षेत्रमा प्रतिकूल अवस्था देखिएमा सो समेतलाई विचार गर्न आदेशमा भनेको छ । सर्वोच्चले भने यसअघि बन्दाबन्दीलाई पूर्ण रूपमा शून्य अवधि कायम गरेको छ । अदालतले सार्वजनिक यातायात सञ्चालनसम्मको अवस्थालाई पूर्ण खुलेको मान्नुपर्ने व्याख्या गरेको छ ।
गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - ०६:०८:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology