Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बाजुरामा आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङगामुढा प्रहार

बाजुरामा आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङगामुढा प्रहार

दैनिकी न्यूज

२, आषाढ २०७७
बाजुरामा आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङगामुढा प्रहार
images

बाजुरा। जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टाइनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारत लगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टाइनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् ।

उनीहरु क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएपछि सोमबार दिउँसो गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैँ आरडिटी गर्न पुगेका थिए । केही व्यक्तिको आरडिटी गरिसकेपछि एक महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आयो । ती महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टाइनमा बसिरहेका उनीहरुले ‘तैँले किन आरडिटी रिपोर्ट पोजेटिभ निकालिस्’ भन्दै स्वास्थ्यकर्मीमाथि नै ढुङ्गामुढा प्रहार गर्न थाले । उनीहरुले प्रहार गरेको दुङ्गा लागेर स्वास्थ्य संयोजक भण्डारी घाइते भएका छन् ।

स्वास्थ्यकर्मी भण्डारीको छातीमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति सम्पर्क व्यक्ति ओमजङ्ग शाहीले जानकारी दिए । स्वास्थ्य संयोजक भण्डारीको छातिमा नीलडाम परेको र उनी बोल्न सक्ने स्थितिमा नभएको शाहीले बताए ।

कोरोना भाइरसको जोखिम उच्च रहेका बेला क्वारेन्टाइनमा बसेकाबाटै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार भएकोप्रति खेद प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उनीहरुलाई कानून बमोजिम कारवाही गरिने बताए । हिमाली गाउँपालिका जस्तो दुर्गम ठाउँमा स्वास्थ्यकर्मी नै नपाइने अवस्थामा स्थानीयवासीले गरेको यस्तो व्यवहारप्रति आफू दुःखित भएको उहाँको प्रतिक्रिया छ ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराले पनि घटनामा संलग्नलाई आवश्यक कारवाहीका लागि स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ । हिमाली गाउँपालिकामा विभिन्न तीन स्थानमा गरिएको परीक्षणमा सोमबार तीन जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । रासस

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - ०९:५१:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology