बारा । १६ वर्षीया किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका वडा नं. १ बस्ने २८ वर्षीय विकास कुमार साह गुप्तालाई जेठ २१ गते प्रहरीले पक्राउ गरेको छ ।
२०७१ सालमा लागेको पंचवर्षिय गढिमाई मेला हेर्न आएकी ती किशोरीलाई २०७१ मंसिर १५ गते बिहान प्रतिवादी विकास कुमार साह समेत ७ जना मिलेर ललाई फकाई बारा बरीयारपुरस्थित फुसको छाप्रोमा लगेर सामुहिक करणी गरेको जबरजस्ती करणी मुद्दामा सातै जना प्रतिवादीहरूलाई पक्राउ गरी जिल्ला अदालत बारा पेश गरिएकोमा २०७१ पुस १८ गतेको आदेशले पुर्पक्षको लागि बीरगंज कारागार पठाइएको थियो ।
ततःपश्चात बारा जिल्ला अदालतको २०७२ वैशाख ३१ गतेको फैसलाले निज प्रतिवादीहरूले सफाई पाएकोमा पुनरावेदन अदालत हेटौंडाको २०७३ जेठ १० गतेको फैसलाले निजहरु सातै जनालाई दोशी ठहर गर्दै कैद सजायको फैसला भएपश्चात् उनीहरु फरार रहेका थिए ।
फरार प्रतिवादी मध्येका ९ वर्ष ६ महिना १५ दिन कैद ठहर भई फरार रहेका प्रतिवादी विकास कुमार साह गुप्तालाई फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सोमबार बारा जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।