काठमाडौं । विपत्का बेला राज्यलाई सहयोग गर्ने मनसायले बैंक तथा वित्तीय संस्थासहित निजीक्षेत्रले कर बुझाउन थालेसँगै राजस्व संकलनमा सुधार आउन थालेको छ । कोरोना महामारी कारण सरकारलाई चालू खर्च धान्नै सकस परिरहेका बेला सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था एवम् निजीक्षेत्रबाट कर दाखिला गर्ने क्रम बढेसँगै राजस्व संकलनमा सुधार आउन थालेको हो ।
असार लागेसँगै पछिल्लो ६ दिनमा २३४ ओटा करदाताबाट ५ अर्ब ५० करोड राजस्व संकलन भइसकेको ठूला कर दाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।
‘कुनै ताकेताविनै स्वस्फूर्त रूपमा विपत्का बेला राज्यलाई सहयोग गर्ने मनसायले राजस्व दाखिला गर्न करदाता आएको पाइयो,’ उनको भनाइ छ । उनका अनुसार बैंक, वित्तीय संस्था, सार्वजनिक संस्थानहरूले दाखिला गर्नुपर्ने राजस्व बुझाउन आउने क्रम बढेको छ ।
आन्तरिक राजस्व विभागका अधिकारीहरूले समेत करदाताको उत्साह बढिरहेको बताएका छन् । विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेका अनुसार स्वैच्छिक रूपमा सरकारलाई भ्याट, अनुमानित करको दोस्रो किस्ता र अग्रिम कर कट्टीबापतको कर बुझाउने क्रम पछिल्लो समय बढेको छ ।
उनका अनुसार असारमा ५ गतेसम्म ९ अर्ब २१ करोड राजस्व संकलन भएको छ । चैत ११ देखि असार ६ सम्म अर्थात् लकडाउनको अवधिमा करीब ५० अर्ब राजस्व संकलन भएको पाण्डेको भनाइ छ ।
वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघले समेत पछिल्लो समय आप्mना सदस्यहरूलाई कर तिर्न आग्रह गरेको थियो । गत बुधवार बसेको बैठकले यसअघि वाणिज्य बैंकहरूबीच कर बुझाउने सहमति भएको र सोहीअनुरूप अघि बढिएको संघका अध्यक्ष भुवन दाहालले बताए । उनका अनुसार बैंकहरूले चैत मसान्तसम्म तिर्नुपर्ने सबै प्रकारका कर सरकारलाई असार ७ भित्र चुक्ता गर्नेछन् । आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।