काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जारी स्थायी समितिको बैठकमा शनिबार २१ नेताहरुले आफ्नो धारणा राखेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको तेस्रो दिनको बैठकमा नेपाल भारत सीमा समस्यामा केन्द्रीत रहेर २१ नेताहरुले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आज बोल्ने अधिकांश नेताहरुले नेपाल–भारत सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्नुपर्ने बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
देवेन्द्र पौडेले, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईँ, लेखराज भट्ट, मणि थाप, वामदेव गौतम, पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, ईश्वर पोखरेल, लेखराज भट्ट, शक्ति बस्नेत, योगेश भट्टराई, विष्णुपुकार श्रेष्ठ र पुष्प कँडेलले आजको बैठकमा बोलेका थिए।
उनले पार्टीको अर्को बैठक यही असार १६ गते ११ बजे बालुवाटारमै बस्ने जानकारी दिए। आइतबार मदन जयन्ती र सोमबार राष्ट्रिय धानदिवस भएका कारण अर्को बैठक १६ गते बोलाइएको उनको भनाइ थियो।
‘शनिबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली केहीबेर सहभागी भएपनि स्वास्थ्यको कारण देखाउँदै हिँडेको श्रेष्ठले जानकारी दिए । यसअघि शुक्रबारको बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।