काठमाडौं । पार्टी फुटकै अवस्थामा पुगेको नेकपाको विवाद मिलाउन दोस्रो तहका नेताहरुले दौडधुप बढाएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबी भएका पटक पटकका एक्ला एक्लै वार्तामा कुनै सहमति नजुटेपछि दोस्रो तहका नेताहरु विवाद मिलाउन कस्सिएका हुन् ।
बिहीबार दोस्रो तहका ११जना नेताहरुले सिंहदरबारमा दोस्रो पटक छलफल गरे ।
यसअघिको छलफलले फुटलाई टारेको भन्दै फेरि पार्टीमा तीव्र मतभेद चुलिएपछि उत्पन्न हुने खतरा आँकलन गरेर नेताहरु जुटेका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफल साढे दुईघण्टा चलेको थियो।
छलफलमा प्रधानमन्त्री ओलीको पक्षमा सडकमा निकालिएका जुलुश र प्रदर्शन रोक्न सुझाव दिने निर्णय भएको एक नेताले बताए ।
विभिन्न समुहले काठमाडौं र बाहिरी जिल्लाहरुमा प्रधानमन्त्रीको पक्षमा जुलुस सभा गरिरहेका छन्।
असार १० गतेदेखि बसेको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुबैपदबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेको छ । उनले राजीनामा दिन अस्वीकार गरेका छन् । बरु आफूलाई हटाउने योजना बनेको सूचना पाएपछि ओलीले दल विभाजन गर्न मिल्नेगरी अध्यादेश ल्याउन संसद बैठकको वर्षे अधिवेशन अन्त्य गराएपछि पार्टीभित्र उनको बहिर्गमनका लागि योजना बनिरहेको छ । सोही योजना अनुसार प्रधानमन्त्रीलाई हटाउन हस्ताक्षर संकलन भइरहेको छ ।
प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल निकट नेताहरुबीच सिंहदरबारमा बिहीबार छलफल भई हस्ताक्षर भएको भए त्यसलाई रोक्न आग्रह गर्ने समेत समझदारी गरेको छ ।
‘ प्रधानमन्त्रीको पक्षमा सडकमा भइरहेको जुलुश र प्रदर्शन रोक्न प्रधानमन्त्रीलाई आग्रह गर्ने समझदारी गरेका छौं,’ छलफलमा सहभागी एक नेताले भने । यस्तै तत्काल बैठक माग गरेर पार्टी कार्यालय धुम्बाराहीमा गरिएको धर्ना पनि स्थगन गर्न अध्यक्षहरुलाई भन्ने समझदारी गरेको ती नेताले बताए ।
सो समझदारीलाई कृषिमन्त्री घनश्याम भुसालले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई र खुमलटार पुगेर प्रचण्डलाई बुझाउने छन्।
यसअघि बसेको बैठकले दुई अध्यक्षबीचमा वार्ता गर्नको लागि जारी बैठक स्थगित गर्नुपर्ने सुझाव दिएको थियो।
ती नेताका अनुसार अघिल्लो बैठकले पार्टी नेतृत्वलाई सहमति गर्न दबाब सिर्जना गरेको र पार्टीपंक्तिमा पार्टी एकता जोगाउनेबारे सकारात्मक सन्देश दिएको निष्कर्ष निकालेको थियो।
छलफलमा कृषि मन्त्री घनश्याम भुसाल, प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, पर्यटन मन्त्री योगेश भट्टराई, स्थायी समिति सदस्यहरू टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल सहभागी थिए।
उनीहरुले पार्टीमा कुनै पनिहालतमा विभाजन आउन नहुने र त्यसका लागि दोस्रो तहका नेताहरुले जस्तोसुकै भूमिका निर्वाह गर्न समेत तयार हुने समझदारी बनाएको अर्काे नेताले जानकारी दिए । ‘ बरु हामी सहमति गर्ने समय दिन्छौं,’ नेता टोपबहादुर रायमाझीले भने, तर, ‘ पार्टी फुटाउन दिँदैनौं ।’