Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

तरकारी आपूर्ति घट्दा ५० देखि १५० प्रतिशतसम्म मूल्य बढ्यो

तरकारी आपूर्ति घट्दा ५० देखि १५० प्रतिशतसम्म मूल्य बढ्यो

दैनिकी न्यूज

८, श्रावण २०७७
तरकारी आपूर्ति घट्दा ५० देखि १५० प्रतिशतसम्म मूल्य बढ्यो
images

काठमाडौं । लगातारको वर्षाका कारण बाढीपहिरोबाट सडक सम्पर्क टुट्दा कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको आपूर्ति घटेको छ । तरकारीको आपूर्ति घटेपछि यसको मूल्य वृद्धि हुन थालेको छ ।

सामान्य अवस्थामा दैनिक ७–८ सय टन तरकारी आपूर्ति हुने गरेको कालीमाटी तरकारी बजारमा बन्दाबन्दीका समयमा दैनिक आपूर्ति घटेर ४र५ सय टनमा सीमित भएको थियो । लगातार वर्षाका कारण देशका धेरै ठाउँमा पहिरोबाढीले गर्दा बाटो अवरुद्ध भएपछि दैनिक तरकारी आपूर्ति अझै कम भई २ सय टनमा झरेको छ ।

सोमवार ३ सय २७ टन, मंगलवार २ सय ९७ टन र बुधवार दिउँसोसम्म १ सय ७० टन मात्रै तरकारी भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार बन्दाबन्दीमा स्कूल, कलेज, होटेल, रेस्टुराँहरू नखुल्दा माग घट्न गई तरकारी आपूर्तिको परिमाण बन्दाबन्दी खुकुलो भए पनि बढ्न सकेको छैन ।

यस समयमा करीब ७ सय टनको हाराहारीमा तरकारी भित्रिनुपर्ने भए तापनि बाढीपहिरोले बाटो अवरुद्ध हुँदा तरकारी आपूर्ति निकै कम भएको उनले बताए । ‘अहिले तरकारी राम्रो उत्पादन हुने सिजन पनि होइन । त्यसमाथि आपूर्ति घटेपछि भाउ बढ्ने निश्चित छ,’ उनले भने ।

कालीमाटी बजारको दैनिक मूल्य सूचीअनुसार गएको १ हप्तामा सानो गोलभेडा, मुडेको आलु, लोकल बन्दा, मुला, घिउ सिमी, भटमास कोसा, परवर, भिन्डीलगायत अधिकांश तरकारीको मूल्य बढेको छ ।

असार ३१ गते औसत थोक मूल्य प्रतिकेजी १२ रुपैयाँमा विक्री भइरहेको सानो गोलभेडाको मूल्य असार ७ गते सम्ममा ५० प्रतिशतले वृद्धि भई प्रतिकेजी १८ रुपैयाँ पुगेको छ । १ हप्ताको अवधिमा लोकल बन्दाको औसत थोक मूल्य करीब १ सय ११ प्रतिशतले वृद्धि हुँदै प्रतिकेजी १८ रुपैयाँबाट ३८ रुपैयाँ पुगेको छ । घिउ सिमीको मूल्यमा १ सय ५ प्रतिशतले वृद्धि भई प्रतिकेजी ३८ रुपैयाँबाट ७८ रुपैयाँ पुगेको छ ।

भिन्डीको मूल्यमा ५२ प्रतिशतले वृद्धि भई प्रतिकेजी ३८ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ ।

भटमास कोसाको मूल्यमा पनि करीब ४० प्रतिशतले वृद्धि भई प्रतिकेजी ६८ रुपैयाँबाट ९८ रुपैयाँ पुगेको छ ।

बाटो अवरुद्ध भएकाले तरकारीको आपूर्ति घटेकाले मूल्य अझै बढ्न सक्ने सूचना अधिकृत श्रेष्ठको आकलन छ ।

वर्षात्को समयमा तरकारीको उत्पादन कम हुने भएकाले हरेक वर्ष यो मौसममा तरकारीको मूल्य बढ्ने गरेको छ । कोरोना त्रासका कारण व्यापारीहरूले भारततिरबाट समेत तरकारी नल्याउँदा अहिले तरकारीको मूल्य बढेको विकास समितिले जानकारी दिएको छ ।

कोरोना त्रासकै कारण भारतीय तरकारीको आपूर्ति करीब ८० प्रतिशतले घटेको छ । स्थानीय तरकारीलाई नै बढी प्राथमिकता दिइएकाले पनि भारतीय तरकारीको आयात घटेको कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका सदस्य गीताप्रसाद आचार्यले बताए ।

आर्थिक अभियानमा प्रशान्त खड्काले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण ८, २०७७ बिहिवार - ०६:२५:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology