ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाका निलम्बित प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले खरिद गरेको जग्गा अध्ययन गर्न राष्ट्रिय सतर्कता केन्द्रले टोली गठन गरेको छ । सेवाग्राहीसंग डेढ लाख घुस लिएकै अवस्थामा साउन ५ गते जैसी र किशोरकुमार मोक्तान पक्राउ परेका थिए । अख्तियारले नियन्त्रणमा लिएसँगै उनी निलम्बनमा परेका छन् ।
नगरपालिकाको प्रमुख भएको समयमा विभिन्न व्यक्तिसँग मिलेमतो गरेर जग्गा किनेको भन्दै जैसी विरुद्ध गतअसार ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग र हेलो सरकारमा उजुरी परेको र हेलो सरकारले आवश्यक कारवाहीको लागि राष्ट्रिय सतर्कता केन्द्रमा पत्र पठाएको थियो ।
जैसी २०७५ भदौमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आएका थिए । गोदावरी नगरभित्रका प्रत्येक प्लटिङ हाउजिङहरूमा रकम असुल्ने गरेको र गोदावरी नगरपालिका–१० स्थित डाँडागाउँको प्लटिङ कम्पनीसँग कमिसन स्वरुप २ कित्ता जग्गा गरी ९ आना लिएर छोरी र श्रीमतीको नाममा पास गरेको उजुरी परेपछि सतर्कता केन्द्रले सो छानबिन गर्न टोली गठन गरि गोदावरी पठाउन लागेको हो । ललितपुरमा गोदावरी नगरपालिका स्रोतसाधनले धनी नगरपालिकाको रुपमा हेरिन्छ ।
जैसी निलम्बन भएपछि मन्त्रालयले बिहीबार वीरेन्द्रदेव भारतीलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिएको छ ।
यो पनि पढ्नुहोस्
ललितपुरको गोदावरी नगरपालिकामा अख्तियारको छापा, दुई कर्मचारी अख्तियारको नियन्त्रणमा
गोदावरीका प्रशासकीय अधिकृतविरुद्ध उजुरी, अख्तियारले छानविन थाल्यो