Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सनराइज बैंकको बोर्ड विवाद राष्ट्र बैंकमा पुग्यो

सनराइज बैंकको बोर्ड विवाद राष्ट्र बैंकमा पुग्यो

दैनिकी न्यूज

११, श्रावण २०७७
सनराइज बैंकको बोर्ड विवाद राष्ट्र बैंकमा पुग्यो
images

काठमाडौं । सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिबीच विवाद बढेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

बैंक सञ्चालक समितिको बिहीवार सम्पन्न बैठकले प्रमुख कार्यकारी अधिकृत ९सीईओ० जनक शर्मा पौड्यालको कामकारबाही चित्त नबुझेको भन्दै राजीनामा माग्ने निर्णय गरेको समाचार बाहिर आएको छ । सञ्चालक समितिमा आन्तरिक विवाद चुलिदै गएपछि सीईओको राजीनामा मागिएको बताइन्छ । सञ्चालक समितिले सीईओको राजीनामा मागेको र पौड्यालले राजीनामा दिन नमानेको विषयमा सञ्चारमाध्यममा समाचार आएपछि राष्ट्र बैंकले दुवै पक्षलाई आइतवार छलफलका लागि बोलाएको हो ।

बैंकको आन्तरिक विवादका बारेमा यसरी बोलाउनुलाई राष्ट्र बैंकको हस्तक्षेपका रूपमा लिने गरिन्छ । सञ्चालक समितिका अध्यक्षले नीतिगत कुरा गर्ने र सीईओले कार्यान्वयन पक्ष हेर्ने हो । तर, यी दुईबीच विवाद भएमा बैंक समस्यामा पर्न सक्ने देखेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंकका सबै पक्षसँग आइतवार सोधपुछ गर्ने जानकारी दिए । ‘सनराइज बैंक समितिले सीईओको राजीनामा मागेको विषयमा मिडियावाजी भएर छताछुल्ल भयो । त्यसैले राष्ट्र बैंकले आइतवार दुवै पक्षलाई बोलाएको छ,’ उनले अभियानसँग भने, ‘राष्ट्र बैंकले आवश्यक परेमा बैंक तथा वित्तीय संस्थाको जुनसुकै बेला सुपरिवेक्षण, भेरिफाई गर्न र छलफल गर्न सक्छ । सञ्चारमाध्यममा बढी चर्चा भएकाले हामीले छलफल गर्न खोजेका हौं ।’

सीईओको राजीनामा मागिएको बारेमा परस्पर बाझिएको कुरा बाहिर आएको छ । एक पक्षले सिईओको राजीनामा सञ्चालक समितिको निर्णयअनुसार मागिएको बताएको छ भने अर्को पक्षले असन्तुष्ट समूहले मात्र राजिनामा मागेको दाबी गरेको छ ।

गत वर्ष सीईओमा निरज श्रेष्ठलाई नियुक्त गर्ने तयारी गरिँदा सञ्चालक समितिकै केही सदस्यले आपत्ति जनाएपछि पौड्याललाई सिईओ बनाइएको थियो ।

बैंक स्रोतका अनुसार पछिल्लो समय सञ्चालक समितिका केही सदस्य ९विशेषगरी मालचन्द दुगड० भने सिईओ पौड्यालको कामप्रति सन्तुष्ट थिएनन् ।

‘यसबीचमा बैंकका अध्यक्ष मोतिलाल दुगड सिईओको पक्षमा देखिएपछि सञ्चालक समितिभित्रै विवाद चर्किएको हो,’ स्रोतले बतायो ।

यता, सिईओ पौड्याल भने सञ्चालक समितिसँग सामान्य आन्तरिक असमझदारी भएको बताउँदै समितिमा राजीनामाको आधिकारिक निर्णय नभएको बताउँछन् । ‘आधिकारिक रूपमा राजीनामा मागिएको छैन र म दिँदा पनि दिन्न । मैले काम थालेको १ वर्ष भयो । ४ वर्षे कार्यावधिमा अझै ३ वर्ष बाँकी छ । म बैंकलाई नयाँ उचाइमा पुर्‍याउनेगरी पूरै कार्यावधि नसकुञ्जेलसम्म काम गर्छु,’ उनले अभियानलाई बताए ।

सञ्चालक समितिका एक सदस्य सीईओको कामप्रति चित्त नबुझेकाले सञ्चालक समितिले राजीनामा माग्ने निर्णय गरेको बताउँछन् । ‘सञ्चालक समितिबीच कुनै गुट छैन । यो एकल निर्णय होइन । सीईओले गरेको कामको चित्त नबुझेरै सामूहिक निर्णयअनुसार मंगलवार–बुधवारसम्ममा राजीनामा मागेका हौं,’ समितिका एक सदस्यले अभियानलाई भने ।

सञ्चालक समितिमा पौड्याललाई नियुक्ति गर्ने बेलामा नै विवाद भएको थियो । पौड्यालको नियुक्तिमा नै निर्देशकहरूको स्वार्थले काम गरेको थियो । समितिले नीरज श्रेष्ठलाई सीईओ बनाउने निर्णय गरिसकेको अवस्थामा सञ्चालक समितिमा दुई पक्षबीच विवाद भएपछि पौड्याललाई सीईओ बनाइएको थियो ।

‘१ वर्षअघि सीईओमा नीरज श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय भएको थियो । तर, समितिका सदस्यबीच नै कुरा नमिलेपछि ग्लोबल आईएमई बैंकबाट राजीनामा दिएर बसेका पौड्याललाई नियुक्त गरिएको थियो । तर, अहिले सबै जना उनको कामप्रति सन्तुष्ट नभएर यो अवस्था आएको हो,’ सञ्चालक समिति सदस्य बछराज तातेडले अभियानलाई बताए ।

पछिल्लो समय पनि बैंक सञ्चालक समितिका सदस्यहरूबीच एक पक्षले सीईओ पौड्याललाई समर्थन गरेको थियो । तर, सञ्चालक समिति सदस्यहरूबीच स्वार्थको सन्तुलन मिलाउन पौड्याललाई हटाउन निर्देशकहरू सहमत भएको बताइन्छ ।

समितिले राजीनामा माग गरेलगत्तै सीईओ पौड्याल नेपाल राष्ट्र बैंकसमक्ष आफ्ना गुनासो राख्न पुगेका थिए । तर, नियमन विभागमा कार्यकारी निर्देशक देवकुमार ढकालसँग भेट गर्न समय नपाएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

संशोधनको अन्तिम प्रक्रियामा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ९बाफिया० ऐनमा सञ्चालक समितिले सीईओको काममा हस्तक्षेप गर्न नपाउने व्यवस्था छ । तर, बैंकिङ हितका लागि समितिले सीईओलाई नीतिगत निर्देशन दिन सक्ने र त्यो निर्देशनअनुसार काम नगरे निकाल्न सक्ने राष्ट्र बैंकको भनाइ छ ।

आर्थिक अभियानमा खबर छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०७७ आइतवार - ०६:२८:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology