काठमाडौं । साउनको पहिलो सातादेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चलाएका निजी यातायात कम्पनीहरूले अपेक्षा गरेअनुरूप यात्रु नपाउँदा सञ्चालनमा ल्याइएका सवारीसाधनको संख्या घटाउने तयारी गरेका छन् ।
कोरोना जोखिमका कारण सीट क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाइने सरकारले निर्णय गरे पनि सञ्चालनमा आएका सार्वजनिक यातायातले आधा मात्र पनि यात्रु नपाएको यातायात व्यवसायीहरू बताउँछन् ।
काठमाडौंमा विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिले हाल उपत्यकामा चारओटा बस सञ्चालन गरिरहेको छ । साबिकको भन्दा ५० प्रतिशत बढी भाडा लिने व्यवस्था सरकारले गरे पनि सुन्दरले पुरानै भाडामा सेवा दिइरहेको छ । ‘पुरानै भाडामा सेवा दिए पनि यात्रु छैनन्, कतिपय बेला त सडकमा बस रित्तै कुद््छन्,’ सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने । अवस्था यस्तै रहे दुईओटासम्म मात्र बस चलाउने तयारी कम्पनीको छ ।
त्यस्तै, शुरूमा दुईओटा बसबाट यातायात सञ्चालन शुरू गरेको दिगो यातायात प्रालिले हाल नौओटा बस सञ्चालनमा ल्याएको छ । तर, यात्रु नै नपाएपछि बस संख्या घटाउने मनसाय कम्पनीको छ । दिगो यातायातका सचिव लालप्रसाद गुरागाईं यात्रुको संख्यामा सुधार नआए आइतवारबाट चारओटा बस मात्रै सञ्चालनमा ल्याइने बताउँछन् । कम्पनीले साउन तेस्रो सातादेखि आफ्ना सबै १७ बस नै सञ्चालन गर्ने तयारी गरेको थियो ।
कुल ३९ बस रहेको महानगर यातायातले हाल १० ओटा मात्र सञ्चालनमा ल्याएको छ । ‘इन्धन र स्टाफ खर्चसमेत नउठ्ने अवस्थाका कारण तत्काल थप बस सञ्चालनमा ल्याउने योजना हाम्रो छैन,’ महानगरका कार्यकारी प्रमुख केशव नेपालले बताए ।
आर्थिक अभियानमा काशीराम बजगाईंले लेखेका छन् ।