काठमाडौं । निषेधाज्ञा खुलेको एक हप्ता नपुग्दै नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्यामा ह्वात्तै बृद्धि भएको हो । पछिल्लो २४ घण्टामा थप १० हजार ३७५ पीसीआर परीक्षण भएको थियो । सरकारले भदौ २४ गते उपत्यकामा गरेको निषेधाज्ञा खुकुलो पार्दै सार्वजनिक सवारी साधन र पसल सञ्चालन गर्न दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ।
नेपालमा पीसीआर परीक्षणको संख्या ८ लाख ६१ हजार ३६० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार २५० जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय संख्या १५ हजार ७७९ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ७,६४० जना रहेको छ ।
आइसीयूमा रहने कोरोना संक्रमित देशभर १७४ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या २८ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
२४ घण्टामा कोरोनाले ११ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।
उपत्यकामा झन् बढ्यो
पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौंमा १६९ महिला, ३८६ पुरुष, भक्तपुरमा ३७ जना महिला, ४९ जना पुरुष र ललितपुरमा १६ महिला, १९ पुरुषमा कोरोना पुष्टि भएको छ ।