डा. कमल लम्साल
मुटु विशेष किसिमको मांशपेशीले बनेको अङ्ग हो । यसले रगतलाई पम्प गरी रक्तनलीहरु मार्फत विभिन्न अङ्गहरुमा पुर्याउने काम गर्दछ । औसतमा प्रतिमिनेट ७० देखि ८० पटकसम्म धड्किने मुटुलाई आफ्नो कार्य नियमित र सुचारु रूपमा गर्नका लागि यथेष्ट मात्रामा अक्सिजन, ग्लुकोज तथा अन्य विभिन्न खाद्यपदार्थ एवं खनिज पदार्थ एवं खनिजहरु जस्तै सोडियम, पोटापसियम, क्याल्सियम आदिको आवश्यकता पर्दछ । यसका लागि मुटुको मांशपेशीभित्र साना तथा मझौला खालका रगतका नलीहरु हुन्छन् । जसलाई मुटुको धमनी वा कोरोनरी आर्टरी पनि भनिन्छ ।
जब मुटुको धमनीहरुमा विभिन्न कारणले गर्दा बोसोजन्य पदार्थ जम्मा भई धमनीहरू साँघुरो हुँदै जाने हुन्छ । त्यसलाई मुटुको धमनीको रोग भनिन्छ । मुटुको धमनीहरुको साँघुरो भएमा मुटु स्वयंले अक्सिजन, ग्लुकोजलगायतका अन्य खनिज पदार्थ प्राप्त गर्न सक्दैन र मुटु कमजोर हुन्छ ।
कमजोर र साँघुरो रक्तनलीहरू सजिलै फुट्न सक्छ । जब मुटुको धमनीहरू एक्कासी बन्द हुन्छ, तब मुटुको केही खण्डले नियमित काम गर्न सक्दैन, त्यसैलाई हृदयघात भनिन्छ ।
हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरि धमिनी वा धमिनीका शाखा भित्रै आकस्मात रगत जम्नगइ रगतको थेग्लाले धमिनी थुनिदिदा थुनिएको भाग भन्दा अगाडि हृदयका मांशपेशीहरूअक्सिजन र अन्य पोषकतत्वहरुको अभावमा देखापरेको आपतकालिन समस्या हो ।
यो समस्या आकस्मात देखापर्ने भएपनि यसको पछाडि लामो सिलसिला जाडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफै रगत जम्नुको पछाडि धमनीका भित्ताहरूमा लामो समयदेखि कोलेस्टेरेल क्याल्सियम र मृत्तकोषहरूजम्मा भएर धमनी साँघु¥याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ ।
यी पदार्थहरूजम्मा भएर धमिनी सागुरिएको ठाउँमा धमिनीले आफ्नो लचकता गुमाउछ र तन्तुहरूलाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरित्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुँदा साघुरिएको ठाउँमा नसाको भित्रि पत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भाग भन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदयतन्तहुरु अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् । यसरी हृदयतन्तुहरूमर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशिल अगंहरुमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ ।
हृदयघातका लक्षणहरु हृदयघात भएको बेलामा छातीको बीच भागमा दुख्ने,भारी हुने, श्वास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढी भएको अनुभव हुने, धेरै पसिना आउने, एकासी बढेर जाने, रिँगटा लाग्नेजस्ता देखिन्छन । कसैकसैलाई पेटको माथिल्लो भाग दुख्ने, बेहोस हुने शरीरको कुनै भाग चलाउन गाह्रो हुने जस्ता लक्षणहरु देखिन सक्छन ।
उच्च रक्तचाप, मधुमेह, चुरोट सेवन, मोटोपन, शारीरिक व्यायमको कमी, उच्च कोलस्ट्रोल, अत्याधिक तनाव तथा नकरात्मक सोच, बढ्दो उमेर, पारिवारिक कारण, पुरुष लैंगिकता आदि कारणले हृदयघात हुनसक्छ ।
हृदयघातबाट बच्नका लागि के गर्ने त ? डा. लम्सालको सुझाहरु यस्तो छन ।
–नियमित स्वस्थ खानपान गर्ने
- नुन तथा चिल्लो पदार्थ कम खाने बढी फाइबरयुक्त फलफूल तरकारीको नियमित सेवन गर्ने ।
–दैनिक आधा घण्टा देखि एक घण्टासम्म शारीरिक व्यायाम गर्ने ।
–मद्यपान तथा धुम्रपान सेवन नगर्ने ।
–स्वास्थ्य परीक्षण गर्ने रक्तचापको मापन लगायत रगतमा सुगर तथा कोलस्ट्रोलको मात्रा परीक्षण गराउने बढी भएमा नियन्त्रणमा रहने गरी आवश्यक परेमा सम्बन्धित चिकित्सकको सुझावअनुसार औषधी सेवन गर्ने ।
–पारिवारिक सावधानी अपनाउने परिवारमा कम उमेरमै मुटुरोग देखिएमा बाँकी सदस्यहरुले नियमित परीक्षण तथा थप सावधानी अपनाउने ।
–शरीरको तौल नियन्त्रनमा राख्ने र तनावहित रहने वातावरण बनाउने, तथा सकारात्मक सोच राख्ने र थप सुझाबको लागि सम्बन्धीत चिकित्सकसँग परामर्श गर्ने ।
–हृदयघातका कारण विश्वमा १ करोड ७५ लाख मानिसको हरेक बर्ष मृत्यु हुने गर्दछ । हाल नेपाल लगायतका विकासोन्मुख राष्ट्रमा पनि यसको प्रकोप बढ्दै गैरहेको छ ।
विभिन्न उपचार पद्धतीका तथा औषधीको बाबजुत हृदयघात भैसकेपछि मृत्युदर अझै नै उच्च नै छ तसर्थ रोग लाग्न नदिन उचित जीवनशैली अनुसरण गर्दा राम्रो र आम मानिसले यस महारोग सम्बन्धी न्युनतम जानकारी राख्ने तथा मुटुरोगको जोखिम बढी भएका ब्यक्तिहरुले नियमित परिक्षण गराउने माथि उल्लेखित लक्षणहरुको केही सङ्का भएमा तुरुन्त अस्पताल गई परिक्षण गर्नु पर्दछ । (लेखक बरिष्ठ मुटु रोग विशेषज्ञ हुनुहुन्छ ।)