Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनापतिको विकासका निम्ति मेरो क्षमता खर्च हुनेछ– गीता विष्ट चौलागाई

सुनापतिको विकासका निम्ति मेरो क्षमता खर्च हुनेछ– गीता विष्ट चौलागाई

दैनिकी न्यूज

२२, बैशाख २०७९
सुनापतिको विकासका निम्ति मेरो क्षमता खर्च हुनेछ– गीता विष्ट चौलागाई
images

जनयुद्धको सुरुवातसँग संगठित भएर माओवादी पार्टीमा आवद्ध गीता विष्ट चौलागाई यसपटकको स्थानीय तह निर्वाचनमा सुनापति गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ ।

शिक्षकको जागिर छोडेर बुवा जनयुद्धमा पूर्णकालीन भएपछि उहाँमा पनि राजनीतिप्रति चासो बढ्न थाल्यो । त्यसपछि गीता अखिल (क्रान्तिकारी) इकाई कोषाध्यक्ष, अध्यक्ष हुँदै विद्यार्थी संगठनको जिल्ला कमिटी सदस्य बन्नुभयो ।

२०५८ सालमा विद्यार्थी संगठनबाट बिदा भई पार्टी राजनीतिमा पूर्णकालीन भई लाग्नुभएकी गीता सहिद परिवार पनि हुनुहुन्छ। उहाँको बुवा काभ्रे–रामेछापको इन्चार्जको जिम्मेवारीमा रहँदा २०५९ सालमा तत्कालीन राज्यले हत्या ग-यो।

बुबाको हत्यापछि झन् बदलाभावसहित क्रान्तिमा प्रतिबद्ध भई उहाँ लागिरहनु भयो। जनमुक्ति सेनाको प्लाटुन कमाण्डर बन्नुभएकी उहाँले स्वास्थ्य विभागमा रहेर घाइतेहरुको उपचार गर्नुहुन्थ्यो । सुरुवाती चरणमा क्याम्पभित्रै तालिम लिएपछि स्वास्थ्य टोली प्रमुख बनेर उहाँले काम गर्नुभयो ।

एसएलसी दिएर पार्टीमा पूर्णकालीन बन्नुभएकी विष्ट शान्ति प्रक्रियामा आएपछि क्यान्टोनमेन्टमा बस्ने क्रममा पढाइलाई पुनः निरन्तरता दिँदै हाल समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ भने एलएलबी पनि पढ्दै हुनुहुन्छ । स्थानीय तह निर्वाचनमा सुनापति गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी विष्टसँग प्रेस सेन्टर नेपालद्वारा सञ्चालित न्यूज बैंकका लागि पुष्पा महराले गर्नुभएको कुराकानीको अंशः

तपाईले किन दोहो-याएर उम्मेदवारी दिनुभयो ?
गत पाँच वर्षको मेरो कार्यकालमा नेपालको संविधान, स्थानीय तह सञ्चालन ऐनले उपाध्यक्षलाई जति जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारी मैले कुशलतापूर्वक पूरा गरें । यसपालि पालिकाको समस्यालाई समाधान गरी विकास र समृद्धि ल्याउने मेरो चाहना थियो । त्यसका लागि मेरो दाबी गाउँपालिका अध्यक्षमा थियो । त्यसो हुन नसक्ने भएपछि पार्टी कमिटीको निर्णय र यहाँको जनताको चाहना बमोजिम मैले पुनः उपाध्यक्ष पदमै उम्मेदवारी दिएकी हुँ । मेरो अनुभव, क्षमता र ज्ञान सुनापतिको विकास र समृद्धिका लागि खर्च हुनेछ ।

सुनापति गाउँपालिकाको विशेषता के के छन् ?
काठमाडौंबाट नजिकको दूरीमा रहे पनि विकास हुन नसकेको पालिका हो सुनापति । गाडीमा चार घण्टाको यात्रापछि पुग्न सकिने भए पनि सुख्खाग्रस्त क्षेत्र भएकाले यहाँ खानेपानीको अभाव छ । पालिकाभित्रका केही वडाका स्थानीय वर्षायाममा मात्रै आफ्नो घरमा बस्ने, अन्य समयमा कोशी किनारमा गएर बस्नुपर्ने बाध्यता छ ।

अधिकांश तामाङ समुदाय रहेको यस पालिकाको मुख्य आयस्रोत कृषि हो । यहाँको हावापानी, माटोका कारण कृषि उपार्जनका लागि यहाँका जनताले अत्यधिक दुःख गर्नुपर्छ । पछिल्लो पाँच वर्षमा हामीले जनताको त्यो दुःखलाई न्यूनीकरण गर्ने कोशिस नगरेका होइनौं । तर थप प्रयत्न गर्नुपर्ने देखिन्छ । यस पालिकामा सुनापति डाँडा, शैलुङको गाठ, सबभन्दा अग्लो स्थान लहरेमानेमा रहेको १०८ स्तुपाहरु एकै ठाउँमा रहेको छ । त्यस्तै चिया बगान पनि बनिरहेको छ । नेपालथोकबाट पैदल यात्रा गरी सुनापति डाँडा र शैलुङ, कालिञ्चोकसम्मको यात्रा अविष्मरणीय बन्नेछ । यसले आन्तरिक तथा तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन सकिन्छ ।

स्थानीय तह निर्वाचनमा तपाई एजेण्डाहरु के–के छन् ?
यस पालिकामा शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकतामा राखेका छौं । त्यस्तै सुख्खाग्रस्त क्षेत्र भएका कारण खानेपानी अभाव कायमै छ । अहिलेको युगमा पनि महिलाहरुको आधा समय पानी बोक्दैमा जाने गरेको दुःखद् यथार्थ कायमै छ यहाँ । त्यसैले घर घरमा पानीको सहज आपूर्तिलाई हामीले मुख्य एजेण्डा बनाएर अघि बढेका छौं । अहिले गाउँमा बच्चा र वृद्धवृद्धाहरु धेरै हुनुहुन्छ । उहाँहरुलाई उत्पादनशील तथा सीपमूलक तालिमहरु दिनसके अझ राम्रो हुने थियो ।

लोपोन्मुख रहेका पहरी जाति, सीमान्तकृत माझी र हेल्मो तथा दलित समुदायको बसोबास हाम्रो पालिकामा धेरै छ । उनीहरुको हक अधिकार लेखाइमा मात्रै सीमित रहेकाले उनीहरुलाई अधिकार दिलाउन र जागरुक बनाउन हाम्रो विशेष पहल हुनेछ ।

तपाईको जितका आधारहरु के–के हुन् ?
गत पाँच वर्षको अवधिमा मैले उपाध्यक्षको अधीनमा हुने कुनै पनि काम पारदर्शी तरिकाले गरेको छु । कुनै पनि उपभोक्ता समितिले ‘उपाध्यक्षले गर्दा हाम्रो काम रोकियो वा हामीले दुःख पायौं’ भन्ने अहिलेसम्मे गुनासो आएको छैन । पार्टीको व्यक्ति स्थानीय तहमा जाँदा राम्रो काम गर्न सक्छ कि सक्दैन भन्ने आम मानिसमा जुन तरंग थियो, त्यसलाई मैले निष्पक्ष रुपले न्याय दिन सकेझैं लाग्छ ।

महिला दिदी–बहिनीहरुका लागि मैले गरेका काम चित्तबुझ्दो छन् । मेरो पुनः उम्मेदवारी पनि उहाँहरुकै मागबमोजिम पनि हो । यस पालिकामा मेरो आवश्यकता छ र म जित्छु भन्ने मलाई लाग्छ ।

तपाईंको पालिकामा भ्रष्टाचारको अवस्था के–कस्तो छ ?
योजना अनुगमन समितिको संयोजक उपाध्यक्ष हुन्छन् । त्यो समिति अहिलेसम्म एउटा पनि नराम्रो कुरा मुछिएन । यसको अर्थ सबै कामहरु निष्पक्ष भयो भन्ने हो । सुनापति गाउँपालिकामा यो काम गलत भयो, यस्तो काम गलत भयो भन्ने रिपोर्ट कतै छैन । मुद्दा मामिला व्यहोर्नु परेन । त्यो उपलब्धि हो । समग्रमा भन्नुपर्दा सुनापति गाउँपालिकामा भ्रष्टाचारको अवस्था शून्य छ ।

images
प्रकाशित मिति :बैशाख २२, २०७९ बिहिवार - १९:२८:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology