Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

दैनिकी न्यूज

१२, जेठ २०७९
मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास
images

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले मंकीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेका हुन् । उनले यो भाइरस नौलो र अन्य संक्रामक रोग जस्तो चाँडै नसर्ने भए पनि सचेत भने हुनुपर्नेमा जोड दिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आइतबारसम्म १४ देशमा यसको संक्रमण देखिइसकेको, ८० भन्दा बढी संक्रमण पुष्टि भएको र शंकास्पद ५० अनुसन्धान भइरहेको जनाएको छ । डब्लूएचओले अन्य धेरैमा संक्रमण भएको हुन सक्ने औंल्याएको छ । डब्लूएचओले यो भाइरसका मध्य अफ्रिकी र पश्चिम अफ्रिकी गरी दुई भेरिएन्ट भएको पनि जनाएको छ ।

हालसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, इजरायल, जर्मनी, पोर्चुगल, स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेनलगायतका मुलुकमा मंकीपक्सको प्रभाव देखिइसकेको छ । यीमध्ये अधिकांश मुलुकमा नेपाली बसोबास गर्छन् । साथै यी देशबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या पनि उल्लेख्य छ । त्यसो त मंकीपक्सको प्रभाव पश्चिम अफ्रिकामा सामान्य भए पनि अफ्रिकाबाहिर भने खासै देखिएको थिएन ।

उता, गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले पनि मंकीपक्सको सम्भावित फैलावट’दयगत विश्वभरका नेपालीलाई सचेत गराएको छ । समितिले प्रेस विज्ञप्तिमार्फत विशेषगरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट बच्न सतर्क रहन सुझावसमेत दिएको छ ।

डब्लूएचओले बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने जनाएको छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने उसले जनाएको छ । डब्लूएचओले संक्रमण भएको खण्डमा ज्वरो आउने, जिउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने, संक्रमण भएको केही दिनमा अनुहारमा बिमिरा देखा पर्न थाल्ने र शरीरका अन्य भागमा फैलिने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीका अनुसार, मंकीपक्स मुखको छिटाबाट समेत सर्दछ । मास्कको प्रयोग गरे, साबुन पानीले नियमित हात धोएको अवस्थामा, शंकास्पद संक्रमित व्यक्तिको नजिक नगएको अवस्थामा बच्न सकिन्छ ।

पछिल्लो समय यो भाइरस असामान्य रूपमा देखा परेको भन्दै वैज्ञानिकले समेत चिन्ता व्यक्त गरेका छन् । यद्यपि, कोरोना संक्रमणजस्तो यसको फैलावट तीव्र गतिको छैन । यो भाइरस एक मानिसबाट अर्को मानिसमा सहज रूपमा सरेको पाइँदैन । जसका कारण मंकीपक्स कोरोनाजस्तो आमरूपमा फैलने सम्भावना देखिन्न ।

वैज्ञानिकहरूका अनुसार, मंकीपक्स संक्रमण भएका दसमध्ये एक जनाको ज्यान गएको छ । पश्चिम अफ्रिकामा मंकीपक्सका कारण मानिसको मृत्यु भएको तथ्यांक छ ।

डब्लूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउ, हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिन्छ ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने यसका लक्षण हुन् । ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्ने, रेसा प्रायः अनुहारबाट सुरु हुने र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिने यसका विशेषता हुन् । यस्तै, रेसाहरू पानी भरिएको फोकामा परिणत हुन्छन् ।

खासगरी हात र गोडाका पैतालामा बिमिरा बढी देखिने गर्छ । ती बिमिराले केही दिन निकै चिलाउने मात्रै होइन, सहनै नसक्ने गरी दुख्ने गर्छ । यद्यपि, बिमिरा बिस्तारै हराउँदै जान्छन् । बिमिरा आएका ठाउँमा दाग भने रहिरहन सक्छ ।

मंकीपक्सका लागि अहिलेसम्म कुनै विशेष उपचार छैन । तर, बिफरविरुद्धको खोप मंकीपक्सविरुद्ध प्रभावकारी देखिएको छ । अन्य भाइरल रोगहरूका लागि काम गर्ने एन्टिभाइरल औषधि पनि मंकीपक्सविरुद्ध प्रभावकारी देखिएको छ ।

मंकीपक्सको इन्क्युबेसन अवधि ७ देखि १४ दिनलाई मानिएको छ । यो समस्या दुईदेखि चार साताभित्र समाधान हुन सक्छ । बुढेसकाल भएका र इम्युनोलोजिकल रूपमा कमजोर भएकालाई भने मंकीपक्सले गम्भीर जटिलता निम्त्याउँदै मृत्युसम्म पनि पु(याउन सक्छ ।

मंकीपक्स सन् १९७० मा पहिलोपटक देखापरेको थियो । प्रारम्भिक खोजमा बाँदरबाट यो भाइरस भेटिएकाले यसको नाम मंकीपक्स राखिएको हो । तर, जंगली जनावरमा हुने मंकीपक्स भाइरस बाँदरभन्दा बढी मुसामा हुने वैज्ञानिकहरूको भनाइ छ ।

संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि यो भाइरस सर्न सक्ने जनाइएको छ । यौन क्रियाकलाप गर्दा पनि यो सर्न सक्छ । पछिल्लो समय देखिएका अधिकांश संक्रमण यौन सम्पर्कको समयमा सरेको मानिएको छ । धेरैजसो संक्रमितका यौनांगनजिक डाबरहरू देखिएकाले संक्रमितसँगको यौन सम्पर्कलाई पनि यसको फैलावट मानिएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - ०६:३३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology