अरु सबै अनेकान भ्रष्टाचार, मानव तस्करी, माफियागिरी गरेर पुलिसको हिरासतमा पुगे । तर म अभागीले उहिले विद्यार्थी जीवनमामात्र त्यस्ता अवसर प्राप्त गरेको थिएँ । तर चोरी, डकैति, मानव तस्करीको आरोपमा भने होइन ।
तर मलाई हिरासत भनेपछि साह्रै डर लाग्छ । चाहे त्यो जस्तो सुकै प्रकारको किन नहोस । तर यसपटक भाग्दा भाग्दै झुक्याउँदा झुक्याउँदै केहिदिन कटाएको थिएँ । तर घरका महिला संघको नेतृत्वमा घरका वाइसियल सारा लागेर झाँगलझूगल पार्दै अस्पतालको हिरासतमा पुर्याइ छाडे ।
केहि दिनदेखि मैले पुरै फरार हुने सोचेको थिएँ । एमाले नेता टोपु (भ्रष्टाचारको गुल्ममा लोकप्रिय नाम) चाल्र्स सोभराज पक्ड्न सक्ने पुलिसलाईसमेत चक्मा दिँदै कुलेलम ठोकेको यो समाचार तयार पार्दासम्म अत्तोपत्तो छैन । यो घटना मैले नजिकबाट नियाली रहेको थिएँ । बादलपुत्र भ्रष्टाचारका युवा नायक प्रतिक । अर्का “पर्मानेण्ट हेड ड्यामेज“ (स्थायी रूपमा टाउको खराब भएको छोटकरीमा पिएचडी) इन्द्रजित राइका छोरा पनि फरारै भैसकेका थिए । यिनै सूचना पाएका घरका प्रेस सेण्टर हर्ने मलाई बेलैमा तान्द्राङ्तुन्द्रङ् पारेको हुन सक्छ ।
त्यो हिरासतमा मसँगैसम्बन्ध कोही वाइसियल कोही कोर टिम भएर देखा परे । अस्पतालको आकस्मिक कक्षको बेडमा उत्तानो चित पारे । हत्केलाभरी पाइप घुसाउने प्वाल बनाएर क्षतविक्षत बनाए । मोबील हो की केहो चिल्लो पदार्थ लगाएर मेरो भुँडीमा लोहोरोजस्तो फलामे डल्लोले रगेटे । अर्को सुरुङ्जस्तो बडेमानको चिसो ड्रममा कट्टुमात्र लगाउन दिएर छिराए ।
यसको परिणाम निस्केपछि डाक्टरले भने –‘तपाइको भुँडीमा ठूलो पत्थरशीला छ ।’ त्यो पत्थरशीला बढेर तपार्एको जाँतोलाइ किच्न आँटेको छ । मलाई लाग्यो अस्ति हर्कपुर (धरान) गएर काँधमा ढुङ्गो बोकेको भए मेरो काँधमात्र खुइलन्थ्यो सायद । यि पत्थरेश्वर रिसाएर होला मेरो भुँडिभित्र पसेर भाँडभैलो गर्दैछन ।
स्वास्थ्य बुलेटिनमा कैफियत:
जब अस्पतालको आकस्मिक हिरासतबाट चिकित्सकको केरकार शाखामा पुगियो । स्वास्थ्य बुलेटिनको कैफियत अरु आधा दर्जन शारीरिक बयान दिनु पर्ने ठहर केरकार प्रमुखले बताए ।
सानो स्वर झिकेर आफुले शरीरमाथि कुनै प्रकारको उत्पीडन भरसक जानेर नमच्चाएको इन्कारी बयान दिएँ । तर केरकार प्रमुखले प्रमाणपुर्जा जुटाउँदै मुखमा बुझो लगाइ दिए । त्यसपछि भने साबिती बयान दिन बाध्य भएँ । रक्सीको सनाखत आठापाँजो गरिएको, मधेस बुटि (खैनी) आदि ग्रहण गरिएको भन्न बाध्य पारियो ।
नम्र भएर शरीरको समसामयिक हाल बुझेँ । केरकार शाखाले लिखितै प्रोस्टेट ग्रन्थी फालिहाल्नु पर्ने फर्मान जारी गर्यो । उता १२ दशमलब २ आकारप्रकारको “पत्थरशीला“ पनि तोड्नु पर्ने उर्दी भयो ।
मैले पनि यसो गम खाएँ । यो पत्थरशीला मेरो पेटभित्र कसरी उत्पादन भयो ? म कुनै ढुङ्गा, गिटी, बालुको कारोबार गर्ने “डन“ र नेताका “सन“ पनि थिइन । यसो लेखापढी गरिखाने सानोतिनो लेखन्दास मात्र थिएँ । बरु उता हर्कपुर (धरान)का श्रम सिविरमा कसैका पेटाँ पत्थरशीला उत्पादन भएको भए कति काम दिन्थ्यो । मेरो पेटमा पत्थरशीला नै उत्पादन गर्नु थियो भने रड, सिमेण्ट, छड कर्कटपातासमेत उत्पादन गरिदिएको भए झनै बेस हुने थियो । कम से कम यि निर्माण समाग्री प्रयोग गरेर यो लेखन्दासले कतै खोला किनार, सुकुम्बासी टोल तिर घरबासको व्यवस्था त गर्ने थियो ।