सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनलाईन विल भएको सवारी साधन र सामानलाई पनि भन्सार छली भन्दै नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । केही दिन पहिला जिल्लाको ब्रम्हपुरी गाउँपालिका वडा नं. ७ स्थित मोहनगन्जबाट बागमती प्रदेश ०१ ०२५ च ५२२६ नम्बरको पिकअप भेनमा अनलाईन विल भएको फुल लिएर आउँदै आउँदै गर्दा प्रहरी चौकी पर्साले भन्सार छलीको भन्दै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाएको थियो ।
अनलाईन विल भएको र बजारमा मार्केटिङका लागि हिडेको पिकअप भेन,त्यसका चालक र फुल धनी सरोज भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरीले अनलाईन विल लुकाएर विल नै नभएको मालवस्तु सहित नियन्त्रणमा लिएको भन्दै सर्लाही भन्सार कार्यालय पठाएको पीडित भण्डारी परिवारको भनाई छ ।
सरोज भण्डारी फुल नर्सरीको नाममा अनलाईन विल रहेको र बागमती प्रदेश ०१ ०२५ च ५२२६ नम्बरको पिकअप भेन दैनिक भाडामा लिएर फुल बेच्दै गरेको अवस्थामा भन्सार छलिको भन्दै निणन्त्रणमा लिएर प्रहरीले भन्सार बुझाएर आफुहरुलाई अनावश्यक दुःख दिएको सवारी धनी सुरज कुमारी देवीले गुनासो गरिन् । उनका अनुसार फुल धनी भण्डारीसँग प्रहरीको विवाद भएको बाहनामा आफ्नो सवारी साधनलाई पनि प्रहरीले फसाई दिएको हो । केही महिना पहिला फुल व्यापारी भण्डारीसँग प्रहरीको विवाद भएपछि प्रहरी चौकी पर्साका प्रमुख असई मनोज यादव निलम्वनमा परेका छन् । यस अघि छिमेकी देश भारतबाट भन्सार छली फुल नेपाल ल्याएर विक्री वितरण गर्ने गरेको भएपनि प्रहरीसँग विवाद भएपछि आफुले सो काम छाडेको र कानुनी हिसाबले मात्रै काम गर्ने गरेको भएपनि प्रहरीले दुस्मनी साँधी रहेको पर्सा गाउँपालिका वडा नं. ६ का भण्डारीले बताए ।
उनले बागमती प्रदेश ०१ ०२५ च ५२२६ नम्बरको पिकअप भेनमा ल्याइएको चार भाँगा फुलको अनलाईन विल रहेको भएपनि प्रहरीले भन्सार छलीको भन्दै नियन्त्रणमा लिएको र फुलको अन्दाजी मुल्य रु एक लाख ६० हजार र भेनको मुल्य रु १० लाख राखेर विल नभएको भन्दै भन्सार कार्यालयलाई पत्राचार गरेर आफु गरी खाने मान्छेलाई दुःख दिएको बताए ।

सरोज भण्डारी फुल नर्सरीको नाममा अनलाईन विल रहेको साथै आफुले सर्लाहीका बजारहरुमा मार्केटिङ गरेर बाँकी रहेको फुल काठमाण्डौँ पठाउन लिएर जाँदै गर्दा प्रहरीले काम देखाउन बाटैबाट नियन्त्रणमा लिएको फुल साहु भण्डारीले बताए । पहिला भन्सार पठाउने पत्र बनाउने समयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले विल लुकाएर पत्र पठाएको र पछि आफुहरुले आफ्नो विल माग्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धितालले विल उपलब्ध गराइ दिएका गाडीधनी सुरज कुमारी देवीले बताईन् तर सो विषयमा सोध्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक थारुले आफुलाई सो सम्बन्धमा कुनै जानकारी नभएको बताए ।
यता,आफुले अनलाईन विल जिल्ला भन्सार कार्यालय सार्लहीमा पेश गरेको भएपनि जिल्ला प्रहरी कार्यालय सर्लाहीले विल समेत फेला परेको भन्ने पत्र नआउँदा सम्म आफुले भेन छाड्न नमिल्ने जिल्ला भन्सार कार्यालय सर्लाहीका कार्यालय प्रमुख एवम भन्सार अधिकृत नरेश साहले बताएका पीडितहरुको भनाई छ । यसबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक थारु कमिसन असुल्ने दाउमा रहेका फुल साहु भण्डारीको आरोप छ । भन्सार छलीको फुल थियो भने नेपाल भारत सिमा नजिकै रहेको प्रहरी चौकी पर्साले सिमानाका नजिकैबाट किन नियन्त्रणमा लिएन र करिब ७ किलोमिटर माथि आएर नियन्त्रणमा लियो भन्ने प्रश्न पनि उठ्न थालेको छ । यता, प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक थारुलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा सोमबार हाजिर हुन निर्देशन भईसकेको छ ।