काठमाडौं । बाल सुधारगृहमा लगातार झडप हुन थालेको १८ महिना पुग्यो । २०७९ असार ६ गते रूपन्देहीको बाल सुधारगृहमा झडप भएपछि समस्या शुरु भएको हो।
डेढ वर्षमा विभिन्न ६ बाल सुधागृहमा झडप भएका छन् । भक्तपुरमा सुधारगृह नै तोडेर बालबालिका भागेका थिए। क्षमताभन्दा बढी बालबन्दी राखिएकाले अधिकांश बालगृहमा झडप हुने गरेको पाइएको छ।
शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, देशका ९ वटा बाल सुधारगृहको क्षमता ५७५ भए पनि ती गृहमा एक हजार १६० बालबालिका छन्।
युसेप नेपालका निर्देशक केशव सुवालले ३० वर्षसम्मका युवालाई सुधारगृहमा राख्नु पर्दा समस्या बढिरहेको बताए। सुधारगृहमा राखिएकामध्ये ४५ प्रतिशतको उमेर १८ वर्षभन्दा माथि भएकाले बाल सुधारगृहमा झडप हुने गरेको उनको दाबी छ।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बालबन्दीलाई सुधार्नका लागि सुधारगृहमा राखिए पनि उमेर बढ्दै गएपछि उनीहरूबिच गुट उपगुट बनाउने कार्य विस्तार भएर झडपको स्थिति सिर्जना भएको जानकारी दिए। मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले अस्वस्थ खाना र बसाइ पनि बालसुधारगृहका समस्या भएको बताए।
भदौमा भक्तपुरमा भएको झडपपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले गरेको स्थलगत अध्ययन प्रतिवेदनमा पनि १९ वर्ष उमेर नाघेकालाई सुधारगृहमा बालबालिकासँग नराख्न भनेको थियो।