काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ।
आयोगको स्वीकृत कार्यक्रमअनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो।
सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचनमा आठ राजनीतिक दलका ५१ उम्मेदवार मैदानमा छन्।
उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो। आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६÷६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ उम्मेदवार छन्।