ललितपुर । चोरी मुद्दामा ९ पटक र अभद्र व्यवहार मुद्धामा ३ सजाय भोगिसकेका एक युवक ललितपुरमा पुनः चोरीको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले भनिमण्डल, सानेपा र झम्सीखेल एरियामा चारवटा घरमा चोरी गरेको आरोपमा उनीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा जिल्लाको शैलुङ गाउँपालिका वडा नं. ४ घरभई हाल मध्यपुर थिमी, वडा नं. ९ निकोसेरा बस्ने ४० वर्षका रघुनाथ बस्नेत रहेका छन् । उनलाई पुस २४ गते उनकै डेराबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

उनले कात्तिक १५ गते ललितपुर–२, सानेपाका तोपबहादुर थापाको घरमा बस्ने जर्मन नागरिक ड्यानिक फुच्सको कोठाबाट तीन वटा ल्यापटप, एउटा क्यामेरा र ४७ हजार नगद चोरी गरेको आरोप छ । कार्तिक २४ गते ललितपुर–४, भनिमण्डलस्थित उषा श्रेष्ठको घरमा बसेका नर्वेजियन नागरिक जेन्रिक सब्स टड्सरडको ३० हजार नगद र कपडाहरू चोरी भएको थियो ।
यसैगरी, मंसिर १७ गते ललितपुर–२ सानेपामा डेरामा बस्ने सुप्रिया राईको कोठाबाट २० तोला सुनका गहना र ६३ तोला चाँदीका गहनासहित करिब २४ लाख७६ हजार बराबरको धनमाल चोरी भएको थियो।
ललितपुर महानगरपालिका–३ झम्सिखेल बस्ने ठाकुरनाथ ढकालको घरमा चोरी गरेको आरोप उनीमाथि छ । रघुनाथले ठाकुरनाथको घरबाट पुस १ गते राति कोही नभएको बेला करिब २७ तोला सुनका गरगहना, करिब १५ तोला चाँदीका गहना गरी करिब ३७ लाख १७ हजार चोरी गरेको आरोप छ ।

बस्नेतले चारवटै घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको ललितपुर प्रहरी प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालले पत्रकार सम्मेलन बताए ।
बस्नेतले यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र दोलखा जिल्लाहरूमा विभिन्न मितिमा ९ पटक चोरी मुद्दा र ३ पटक अभद्र व्यवहार मुद्दामा कारबाही भोगिसकेका थिए ।
बस्नेतले चोरी गर्न धेरैजसो विदेशी बस्ने घरलाई लक्षित गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । त्यस्तै घरमा मान्छे नबस्ने, बाहिरबाट ताला लगाएको, रातीमा बत्ती नबलेको घर खोजेर चोरी गर्न प्रवेश गर्ने गरेको पाइएको छ । ‘एक्लै प्रवेश गरेर चोर्ने, चोर्दाखेरि त्यस्तो घर टार्गेट गर्ने जसले गर्दा कुनै अवरोध नहोस’, एसएसपीले खनालले भने, ‘भित्र प्रवेश गर्दा एउटा लुगा लगाउने, चोरी गर्ने अर्कै र फर्किँदा अर्कै लुगा लगाउने गरेको पाइएको छ, मान्छेले नचिनोस् भनेर ।’
सानेपामा चोरी गर्दा भक्तपुरबाट पहिले काठमाडौं आएको, त्यहाँबाट ललितपुर गएर चोरी गरेको, चोरी गर्ने क्रममा साइकलसमेत चोरेको र त्यसमै चढेर त्रिपुरेश्वरसम्म आएको र साइकल छाडेर अफ राइड सेयर चढेर आफ्नो डेरामा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले सो चोरी गरेको घरभित्र रहेको मदिरा समेत सेवन गरेको प्रहरीको भनाइ छ ।
विभिन्न कसुरमा उनलाई १२ वर्ष कैद सजाय भएको पाइएको छ। पछिल्लो पटक २०७७ सालमा दोलखाबाट चोरी कसुरमा मुद्दा चलेको थियो। बस्नेत गत संविधान दिवसमा कैद सजाय मिनाहा पाएर छुटेका थिए। जेलबाट छुटेर पनि उनले पुन: चोरीको काम थालेका थिए।
उनलाई पुस २४ गते जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।