ललितपुर । ललितपुरमा १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई दादुरा–रुबेला विरुद्धको खोप दिइने भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुर र जिल्ला खोप समन्वय समितिले मंगलबार ललितपुरमा आयोजना गरेको ‘दादुरा–रुबेला खोप अभियान अन्तर्गत अन्तरक्रिया एवं छलफल’ कार्यक्रममा बाल मृत्युदर घटाउन सो कक्षामा अध्ययनरत विद्यार्थीलाई उक्त खोप दिइने भएको हो ।
खोप अधिकृत पार्थमणि न्यौपानेले ललितपुरका विद्यार्थी जो कक्षा १० मा अध्ययन गर्छन तर उनीहरूको उमेर १६ वर्ष छ भने तिनीहरूलाई समेत खोप लगाइदिने तयारी गरिरहेको बताए । उनले भने, “हामीले ललितपुरका ६ पालिका मध्ये ललितपुर महानगर तथा गोदावरी र महालक्ष्मी नगरपालिका एवं वाग्मती गाउँपालिका भित्र आउँदो फागुन १३ देखि खोप लगाउन सुरु गर्नेछौँ भने बाँकी रहेको दुई गाउँपालिका महाङ्काल र कोञ्ज्योसोममा भने फागुन १५ देखि खोप लगाइदिनेछौँ ।” तराईका २१ र काठमाडौं उपत्यकाका ३ जिल्लाका १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरु दादुरा–रुबेला रोगबाट बढी जोखिममा रहेका आफूहरुले पाएको बताउँदै सो उमेरका विद्यार्थीको भविष्यलाई मध्यनजर गरी स्वास्थ्य शाखा ललितपुरले खोप विरुद्ध उक्त योजना बनाइरहेको समेत न्यौपानेले जानकारी गराए ।
स्वास्थ्य कार्यालय ललितपुरका निमित्त प्रमुख सञ्जु रायले सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि सो रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएसँगै आफूहरुले पनि ललितपुरका १० कक्षामा अध्ययनरत विद्यार्थीलाई खोप लगाउने तयारी गरिरहेको सुनाइन् ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले ललितपुरमा सो खोप सेवा लिन कोही पनि नछुट्ने गरी कार्यक्रम सम्पन्न गर्न आग्रह गरे ।
जिल्ला समन्वय अधिकारी दिनेशप्रसाद थानीले ललितपुरका सम्पूर्ण बालबालिकाले सो खोप सेवा लिइ दादुरा–रुबेला विरुद्ध लड्न सकुन भन्ने कामना व्यक्त गरे ।
के हो दादुरा–रुबेला रोग?
मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो। रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग हो रुबेला। चाडै महामारीको रुप लिनसक्ने यी रोगहरु विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल, टेकुका रिसर्च संयोजक डा. शेरबहादुर पुन बताउँछन्। दादुरा संक्रमण भएमा मृत्यु समेत हुनसक्छ। त्यसैगरी, रुबेला भाइरस दादुरा रोगको लक्षण भन्दा सामान्य किसिमको हुन्छ।तर, गर्भावस्थामा रुबेला संक्रमण भएमा विभिन्न जटिलताहरु देखिने डा.पुन बताउँछन्। जस्तैः समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मिने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्नसक्ने, गर्भपतन हुने। डा. पुनकाअनुसार यस्तो रोग लागेमा अरुलाई सर्नबाट जोगाउन बिरामीलाई अलग ठाउँमा राख्न आवश्यक हुन्छ। यससँगै चिकित्समको सल्लाहमा लक्षणअनुसार तत्काल उपचार गरिहाल्नुपर्छ।
कसरी सर्छ दादुरा
दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सर्छ। दादुरा रोगको लक्षण देखिनु भन्दा अघि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म संक्रमितले दादुराका विषाणु सार्दछन्। बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्नसक्छ।
कस्ता हुन्छन् लक्षण
दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो। संक्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ। यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखापर्छ। यससँगै केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा देखापर्छन्। ती विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन्। यी विमिरा ५, ६ दिनसम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन्। सामान्यतया उक्त रोगको जिवाणु शरीरमा प्रवेश गरेको ७ देखि १८ दिनभित्रमा लक्षण देखिन थाल्छ।
के दादुरा रोगको उपचार हुन्छ?
दादुरा रोग लागेपछि यसको खास उपचार छैन। तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्काने लगी लक्षण अनुसार र जटिलताको उपचार गर्नु पर्दछ। साथै विरामीलाई भिटामिन ए अनिवार्य रूपमा खुवाउनु पर्दछ। दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुरा बिरुद्धको खोप लिनु नै हो त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकाहरुलाई ९ र १५ महिनाको उमेरमा दादुरा खोपको दुई मात्रा लगाउनु पर्दछ साथै अभियानमा समेत सबै बालबालिकालाई अनिवार्य रुपमा दादुरा खोप लगाउनु पर्दछ।