Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोठीभिरको यात्रा

कोठीभिरको यात्रा

दैनिकी न्यूज

२६, आषाढ २०८१
कोठीभिरको यात्रा
images

अनेकौँ सम्पदाले भरिएको प्युठान जिल्लाको नौबहिनी गाउँपालिकाको प्रवृति, संकृति र माटो गौरवशाली छ । मलाई बेला बेलामा नौबहिनी गाउँपालिकामा पर्ने कोठीभिरको नजिक पुगेर धीत मर्ने गरी हेर्ने रहर जाग्थ्यो । साँच्चै भनूँ भने मलाई यहाँका सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाले तानिरहेका थिए ।

वैशाख, २०८१ साल थियो । नयाँ वर्षको उमङ्गले अझै छोडेको थिएन । वैशाखको पहिलो हप्ता धीत नमरुन्जेल हेर्न र तिर्सना मेटाउन कोठीभिरसम्मको यात्रामा मेरा पाइला अगि बढे । बसको यात्रा सुरू भयो प्युठानको बाग्दुला बजारबाट । त्यहाँबाट २९ किलोमिटरको यात्रा पूरा गरेपछि स्याउलीवाङको ठुलोगाउँसम्म पुगियो । स्याउलीवाङमा बस्न र खानका लागि होटलको राम्रो प्रबन्ध रहेछ ।

ठुलोगाउँबाट कोठीभिरका लागि करिब ६ घण्टा पैदल यात्रा गर्नु थियो । यात्रा सहज बनाउन स्थानीयवासीले सल्लाह र सुझाव दिए । उनीहरूकै सल्लाहबमोजिम प्राथमिक उपचार सामग्री किनेँ । पदयात्रा जङ्गलैजङ्गल हुँदै जाने र बाटामा बस्ती नभेटिने भएकाले बाटाको खाजा र पानीको समेत जोहो गरेँ ।

मसँग कोठीभिरसम्म पुग्ने तीनओटा बाटाका विकल्प थिए । पहिलो विकल्प ठुलोगाउँबाट ढुङ्गागारे, बच्चाचौर, तिखो, लिस्ने, कमिरे हुँदै पुग्न सकिन्थ्यो । दोस्रो विकल्प ठुलोगाउँबाट फेरिखोला, पातिहाल्ने, तारे, लाम्पानी दह, ध्वजाबान्ने हुँदै कोठीभिरसम्म पुग्ने थियो । तेस्रो विकल्प ठुलोगाउँबाट पँधेरेखोलाको किनारैकिनार घारीखोला, नौबहिनी क्षेत्र, खलेसवाङ, गुराँसे हुँदै कोठीभिरसम्म पुग्ने । मलाई ठुलोगाउँका एकराज भण्डारीले तेस्रो विकल्प रोज्न सल्लाह दिए ।

यात्रा पँधेरेखोलाको किनारैकिनार अगाडि बढ्यो । अग्ला अग्ला पहाडी चट्टान, हरियाली वनजङ्गलले मेरो मनलाई लोभ्याउँदै गयो । बाटाभरि लालीगुराँस र चमेली फूल ढकमक्क फुलेका थिए । डाँफे, मुनाल, कालिज, घोरल, कस्तुरी आदिले वनको शोभा बढाएका रहेछन् । बाटामा चिराइतो, पखानवेद, पाँचऔँले आदि वनस्पतिले स्वागत गरिरहे । लामो र कठिन यात्रा पूरा गरेर कोठीभिर पुगियो ।

कोठीभिरका अनेकौँ अर्थ होलान् । स्थानीय भाषामा अन्न भण्डार गर्न सकिने चोयाले बुनेको भकारीलाई कोठी भनिने रहेछ । त्यहाँ कोठा आकारका जस्ता चट्टान थिए । त्यसैले यसको नाम कोठीभिर रहन गएको अनुमान गरेँ । गाउँपालिकाका जनप्रतिनिधि कोठीभिरमा भेटिनुभएको थियो । केही महिना अगाडि गाउँपालिकाको बैठक कोठीभिरमा भएका समाचार पत्रपत्रिकामा पढेको थिएँ । उहाँसँग केही समय भलाकुसारी गरेपछि थाहा भयो यस क्षेत्रमा स्याउलीवाङका बासिन्दाहरूले परापूर्व कालदेखि नै असारदेखि असोज महिनासम्म गोठ बनाएर बस्ने गरेका रहेछन् ।

कोठीभिरको काखमा लुङ खोला बगिरहेको थियो । कोठीभिरतिर हेरेर धवलागिरि हाँसिरहेको थियो । माछापुच्छ्रे र अन्नपूर्ण हिमाल मुसुक्क मुस्कुराए । यात्राभरिका दुःखकष्ट कोठीभिर र त्यहाँबाट देखिने मनोरम दृश्य हेर्नासाथ हराएर गए । कोठीभिरबाट मध्य पहाडी लोकमार्ग, रोल्पा र बाग्लुङका विभिन्न भूभाग पनि सजिलै देखिए । मलाई कोठीभिर पर्यापर्यटनको उत्तम गन्तव्य जस्तो लाग्यो । यहाँ पर्यावरणलाई बिथोल्ने वmुनै क्रियाकलाप थिएनन् । त्यहाँ त अनुपम अनुभव र नयाँ चेतना लिएर फर्किने सन्तुलित वातावरण थियो । अनुपम प्रावृmतिक सम्पदालाई धीत मरुन्जेल हेरेर तेस्रो विकल्पको बाटो हुँदै कोठीभिरबाट फर्किएँ ।

images
प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - ०७:०४:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology