नेपालको राजनीतिक इतिहासमा केही यस्ता व्यक्तित्व छन्, जसको मूल्यङ्कन जीवित रहँदा भन्दा मृत्युपछि धेरै गहिराइका साथ महत्व दिन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ त्यस्ता विरलै व्यक्तित्वमध्ये एक हुन् । आफ्नो जीवनकालमा उनीमाथि अनेक आरोप लागे—कसैले उनलाई संशोधनवादी भन्यो, कसैले वर्गसम्झौतावादी, त कसैले ‘गद्दार’ र ‘दलाल’सम्मका आरोप लगाए । तर समय बित्दै जाँदा इतिहासले उनको योगदानलाई नयाँ ढङ्गले मूल्याङ्कन ग¥यो । आज नेपालका लगभग सबै कम्युनिस्ट धारले उनलाई संस्थापक महासचिव, वैचारिक पथप्रदर्शक र नेपाली कम्युनिस्ट आन्दोलनका एक प्रमुख निर्माता मान्छन् ।
इतिहासको यही विरोधाभास बुझ्नका लागि पुष्पलालको जीवनलाई घटनाको सूचीका रूपमा होइन, विचार र समयको सन्दर्भमा हेर्न आवश्यक छ ।
वि.सं. १९८१ साल असार १५ गते जन्मिएका पुष्पलाल श्रेष्ठको पारिवारिक पृष्ठभूमि नै राजनीतिक चेतनाले भरिएको थियो । उनी नेपालका अमर सहिद गंगालाल श्रेष्ठका भाइ थिए । राणाशाहीविरुद्ध गंगालालले दिएको बलिदानले पुष्पलालको जीवनमा गहिरो प्रभाव पारेको थियो । परिवार र निकट साथीहरूमाझ उनी ‘माइला दाइ’ भनेर चिनिन्थे । त्यो सम्बोधन थिएन, एक आत्मीय व्यक्तित्वको परिचय पनि थियो ।
पुष्पलालले किशोरावस्थादेखि नै नेपालको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको अध्ययन गर्न थाले । उनले बुझेका थिए कि नेपालमा राजनीतिक परिवर्तन शासन फेरबदलले सम्भव हुँदैन । त्यसका लागि जनताको चेतना, सङ्गठन र स्पष्ट वैचारिक आधार आवश्यक हुन्छ । यही सोचले उनलाई माक्र्सवादतर्फ आकर्षित ग¥यो ।
त्यो समय नेपालमा माक्र्सवादी साहित्य लगभग उपलब्ध थिएन । विश्वमा कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स र लेनिनका विचारले ठूलो प्रभाव पारिसकेको थियो, तर नेपाली भाषामा ती विचार पुग्ने माध्यम थिएन । यही अभावलाई महसुस गर्दै पुष्पलालले विश्वप्रसिद्ध ‘कप्युनिस्ट घोषणापत्र’ नेपाली भाषामा अनुवाद गरे । यो एउटा पुस्तकको अनुवाद थिएन, यसले नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक जग निर्माण ग¥यो । हजारौं राजनीतिक कार्यकर्ता पहिलो पटक माक्र्सवादसँग नेपाली भाषामार्फत परिचित भए ।
पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेर नेपाली राजनीतिमा एउटा नयाँ युगको सुरुवात गरे । त्यो अर्को राजनीतिक दलको जन्म थिएन, शोषण, सामन्तवाद र निरंकुशताविरुद्ध वैज्ञानिक समाजवादको विचारलाई नेपाली भूमिमा सङ्गगठित रूपमा स्थापित गर्ने प्रयास थियो ।
उनको एउटा मूल मान्यता थियो— ‘नेता प्रधान होइन, नीति प्रधान हुनुपर्छ ।’ यो भनाइ नाराका रूपमा होइन, उनको सम्पूर्ण राजनीतिक जीवनको मार्गदर्शक सिद्धान्त थियो । उनका अनुसार कुनै पनि आन्दोलन व्यक्तिको लोकप्रियताले होइन, सही नीति, जनतासँगको सम्बन्ध र वैचारिक स्पष्टताले सफल हुन्छ । यही कारण उनले व्यक्तिपूजाको सधैं विरोध गरे र विचारको राजनीतिलाई प्राथमिकता दिए ।
तर दुर्भाग्यवश, नेपाली कम्युनिस्ट आन्दोलनभित्र वैचारिक बहसभन्दा गुटीय प्रतिस्पर्धा बलियो बन्दै गयो । पुष्पलालले उठाएका धेरै प्रश्न तत्काल स्वीकारिएनन् । उनले राष्ट्रियता, लोकतान्त्रिक अधिकार र संयुक्त जनआन्दोलनलाई जोड दिए, तर उनका धेरै समकालीनहरूले त्यसलाई शङ्काको दृष्टिले हेरे । वैचारिक असहमतिले क्रमशः व्यक्तिगत आरोपको रूप पनि लियो ।
यद्यपि, पुष्पलालले कहिल्यै आफ्नो अध्ययन, लेखन र सङ्गठन निर्माणको अभियान रोकेनन् । उनका लागि राजनीति भनेको सत्ता प्राप्तिको साधन होइन, समाज रूपान्तरणको अभियान थियो । त्यसैले उनले जीवनभर सङ्गठन, विचार र जनताको पक्षमा आफ्नो समय समर्पण गरे ।
पुष्पलालको प्रारम्भिक राजनीतिक यात्राले एउटा सन्देश दिन्छ— क्रान्ति बन्दुकभन्दा पहिले विचारमा जन्मिन्छ । विचारलाई जनतासम्म पु¥याउन साहित्य, अध्ययन र सङ्गठन चाहिन्छ । यही कारणले पुष्पलाल एक राजनीतिक नेता होइनन्, उनी नेपाली माक्र्सवादी चेतनाका आधारशिला हुन् ।