घर फर्किँदै थिएँ, निरन्तर बजेको मोबाइलको घन्टीले दुई पाङ्ग्रा घ्याच्च रोकिए । अपरिचित मोबाइल नम्बर, रोकिएपछि उठाउनै पर्छ भन्ने मनको आग्रह नकार्न सकिनँ ।
‘नमस्कार सर ! सत्य निरुपण तथा मेलमिलाप आयोगमा क्षतिपूर्ति र परिपूरणका लागि निवेदन दिनुभयो ?’ आवाज सुन्ने बित्तिकै लाग्यो फोनकर्ताले मलाई बर्सौँदेखि चिन्छन् । उनलाई मेरो कुण्डली थाहा छ । विगत र आगत थाहा छ ।
स्वर ठम्याउन सकिनँ । उनले पनि प्रस्ट परिचय दिएनन् । सायद उनका लागि मसँग परिचित हुनुको अर्थ थिएन कि ! उनीसँग सामान्य कुराकानी भयो तैपनि मनको कौतूहलता मेटिएन । मस्तिष्कका तारहरू सलबलाए । खाटा बसेको घाउ चरक्क चर्कियो । फोन काटेँ, पाइला छिटो छिटो घरतिर लम्किए ।
‘निवेदन दिनुभयो ?’ प्रतिप्रश्न पुनः मनमा आयो । निवेदन दिन त प्रमाण चाहिन्छ । प्रमाण कहाँ होला ? राजविराजको हिरासतमा बसेको प्रमाण कसैले दिएनन् । माग्ने परिस्थिति पनि थिएन । त्यहाँ गुजारेका २७ दिन २७ महिना झैँ थिए । उही हातमा हतकडी, आँखामा पट्टी ।
सिराहाको जिल्ला प्रहरी कार्यालयको हिरासत त झन् मामाघर जस्तै थियो । आन्दोलन भयो, लगिहाल्ने । नेपाल बन्द छ रे, खोजी भइहाल्थ्यो । खै कता के जाति कब्जा गरे रे, फेरि खोजी । ३० औँ पटक पुगियो होला सिराहाको हिरासतमा । जीवनका लगभग १५० भन्दा बढी दिनहरू सिराहाको हिरासतका छिँडीमा बिते । यस समयमा म र हिरासत एकअर्काका पर्याय बनेका थियौँ । कष्ट, पीडा, आक्रोशका यी दिनहरूको एक्कासि सम्झना आयो, ‘खोइ प्रमाण !’
त्यतिखेरका राष्ट्रिय र स्थानीय पत्रिकामा म समाचार बनेको थिएँ, अहिले प्रमाण चाहिएका बेला मसँग समाचारका कटिङ पनि छैनन् । कहाँ खोजौँ २७ वर्ष अगाडिका समाचार ? कुन महिना, कुन गते त्यो पनि सबै हेक्का छैन ।
‘पैताला पोल्छन् । खुट्टा झमझमाउँछ । नशाको समस्या छ । पाचन प्रणालीमा समस्या छ । निधारमा बन्दुकको कुन्दाले हानेर बनाइएको सानो खत छ ।’ एक मनले भन्यो यी प्रमाण छँदै छन्, पेस गर न । डाक्टरको प्रेस्क्रिप्सन पल्टाएँ, कतै लेखिएका थिएनन् यातनाका कारण भनेर । कसले पत्याउने ?
खोजी गर्नु थियो प्रमाण । घर सम्झिएँ, दाजुको याद आयो । जेठो दाइलाई राजविराज हिरासतमा लामै समयसम्म राखेर यातना दिएका थिए । माइलो दाजु सप्तरी जिल्लाको जनयुद्धको पहिलो सहिद रे ! सहिदको भाइ, यसभन्दा ठुलो प्रमाण के हुन सक्छ ? उद्वेलित मन एकाएक शान्त भयो ।
महान सहिद भन्थे, अचेल सम्झिँदैनन् । दुई वर्ष अगाडि बरपिपल भएको ठाउँमा शालिक बनाउने कुरा थियो, छिमेकमा बस्नेले दिएनन् । मरेको मान्छेको मूर्ति राख्दा हामीलाई तर्साउँछ, हुँदैन भने । अर्को वडामा शालिक बनाएर पार्टी अध्यक्षले उद्घाटन गरेको फोटो फेसबुकमा देखेको थिएँ । त्यही फोटो प्रमाणका रूपमा लिएर जाऊँ जस्तो लाग्यो । नाता प्रमाणित कसले गर्ने ? यदि नाता प्रमाणित नै भए पनि मैले पाएको जेल, नेल, यातनाको प्रमाण कसरी दाजु ? दिमाग रन्थनियो । भाउजूलाई सम्झिएँ, बिचरी भाउजू ! जेठी छोरी ९ कक्षामा हुँदा रातो सिपाही बनिन्, ८ वर्षपछि अयोग्य लडाकु रे ! छोरो घरव्यवहार धान्न कुबेत भासिएको ६ वर्ष भएछ ।
मेरा गुरु रामवृक्ष यादवलाई सम्झिएँ । २०४३ सालतिर दुई दुई जोडे चार हुन्छ, पढेलेखे ज्ञान हुन्छ भनेको अहिले जस्तै लाग्छ । २०५१ भदौँ २ गते उहाँको पनि सहादत भयो । उहाँको चेला, यो पनि मेरो प्रमाण नै हो जस्तो लाग्यो । अर्को मनले सोच्यो, ‘माइलो दाजुको सहादत २०५५ साउन ३१ मा भएको, कुनै चर्चा छैन । सहिदमा पनि विभेद !’ एकाएक म कर्तव्यबोधले थिचिएँ । मेरो प्रमाण खोजी अभियानको क्षेत्र र दायरा एक्कासि फराकिलो बन्दै गयो । त्यसपछि आफ्नो र दाजुको न्यायका लागि अलग अलग प्रमाणको खोजीतिर लागेँ ।
सङ्कटकालमा मेरो बसाइ कीर्तिपुरमा थियो । प्रहरीले आतङ्ककारी भनेर मलाई समातेको घर जान मन लाग्यो । पारिवारिक नाताले नजिकको नभए पनि कर्मले सम्मान गर्न लायक सङ्गीता भाउजू हुनुहुन्थ्यो । उहाँसँगको फोन संवादले मलाई सान्त्वना दियो । उहाँले पत्रकार महासंघले २०५९ सालमा प्रकाशन गरेको ‘सङ्कटकालमा प्रेस’ नाम गरेको किताब तपाईँसँगै हुनुपर्ने भनेर विश्वास व्यक्त गर्नुभयो । खोजी गर्दै जाँदा किताब पनि फेला पर्यो । त्यहाँ म र म जस्ता सयौँ पत्रकारका बारेमा घटना विवरण छापिएको रहेछ । ‘देखिस् प्रमाण, अब यसैलाई फोटोकपी गरेर बुझाउँछु ।’ मन एकाएक पुलकित भयो ।
मेरा हराएका २७० दिन ‘सङ्कटकालमा प्रेस’ नाम गरेको किताबमा फेला परे । जनसेवा, सिंहदरबार, सोह्रखुट्टे, कालीमाटीका प्रहरी बिट तथा छाउनी, महाराजगन्ज, भैरवनाथगणमा आँखामा पट्टी र हात पछाडि बाँधेर राखेका कुनै दिनहरू त्यस पुस्तकमा थिएनन् । ती बेपत्ता ९५ दिनहरूको प्रमाण खोज्नु यमराजलाई निम्ता दिनु झैँ भयो । चुप लाग्नुमा नै कल्याण हुन्छ जस्तो लाग्यो ।
केही भेटिन्छ कि भन्ने आशा मरेको थिएन । पुराना फाइल पल्टाएँ, त्यहाँ पातलो झुत्रो भइसकेको कागज फेला पर्यो । त्यो काठमाडौँका तत्कालीन सिडियो नारायणगोपाल मलेगुको आदेशमा मलाई केन्द्रीय कारागारको ३ महिनाको नजरबन्दबाट रिहाइ गरेको पत्र रहेछ । त्यस दिन म जेलबाट छुट्ने बित्तिकै पुनः पक्राउ परेर हनुमानढोका पुगेको थिएँ । उही हनुमानढोका, उही प्रिय उपियाँ र उडुस । हनुमानढोकाको हिरासतमा मेरो दोस्ती एक जना पाकेरमारेको अभियोगमा आएको भाइसँग भयो । उनी हिरासतबाट छुट्ने दिन मैले त्यो रिहाइको कागज फलानो ठाउँमा लगेर दिनु भनेको थिएँ । उनले ठुलो गुन लगाए । अर्को ज्युँदो प्रमाण पाएँ, मनमा एकाएक आशाका दीप बल्न थाले ।
काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारमा थप प्रमाण होला भन्ने आशामा त्यहाँ पुगेँ । रेकर्डमा ९ महिना अर्थात् २७० दिन जेल बसेको प्रमाण भेटियो । कारागारका कर्मचारीले अर्को कागज बनाइदिए । प्रमाण फेला परेका दिनहरू गनेँ । अझै तीन सयभन्दा बढी दिनहरू लापत्ता थिए । फर्किँदा नेता भेटिए । उनी बियरले लट्ठिएका रहेछन् । मातेका बेला उनको अवचेतन मन बोल्यो, ‘ओइ मास्टर ! जनयुद्धमा योगदान गरेको, जेल बसेको भनेर बेकुफ बनाउने ।’ मलाई त्यो नेता काँचै खाऊँ जस्तो लाग्यो, आफूलाई सम्हालेँ अनि आफ्नो बाटो लागेँ ।
नाफाको जिन्दगी, बिगतको भूमिकामा गर्व गर्दै केही दिनपछि एउटा कार्यक्रममा गएँ । त्यहाँ पार्टी नेतृसँग भेट भयो । उनी गुटकी महारानी थिइन् । अनुहार हेर्न मन लागेन । रिस उठ्यो । यस्ता नेताको दैलामा खुट्टा टेक्दिनँ, रन्थनिँदै घर आइपुगेँ । मनमा धैर्य र साहसको द्वन्द्व चल्यो । अन्ततः धैर्यको जित भयो, ‘भोलि आयोग जानु छ । निवेदन दिनु छ । तिमीले खिया लागेको फलाम भनेर हेला र अपमान गर्यौ त के भयो ? कतै आयोगले हिरा भनिहाल्छ कि !’