काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८०–८१ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार झण्डै ६१.८१ प्रतिशत विद्यार्थी कक्षा ११ मा अध्ययन गर्न योग्य ‘ग्रेड’ ल्याउन सफल भएका छन् भने ३८ प्रतिशतभन्दा बढी ‘नन–ग्रेडेड’ भएका छन्।

यो वर्ष ५ लाख १४ हजार ७१ जना परीक्षामा सहभागी भएका थिए। जसमध्ये १२६ जनाको परीक्षा रद्द गरिएको छ। गत वर्षभन्दा यो वर्ष उत्तीर्ण हुने विद्यार्थीको प्रतिशतमा उल्लेख्य सुधार देखिएको छ। २०७९ मा मात्र ४८ प्रतिशत विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने ग्रेड ल्याएका थिए।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार ४८,१७७ जनाले जीपीए ३.६ देखि ४.० सम्म प्राप्त गरेका छन्। त्यसैगरी, ८१,३८५ जना (जीपीए ३.२–३.६), ७९,१२४ जना (२.८–३.२), ४८,४७९ जना (२.४–२.८), ४,१२६ जना (२.०–२.४) र ८ जनाले जीपीए १.६ देखि २.० बीच प्राप्त गरेका छन्।
सबैभन्दा धेरै विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन्। गणितमा १,२८,२१५ जना, अङ्ग्रेजीमा ८०,६७२ जना, विज्ञान तथा प्रविधिमा ७९,२७१ जना, नेपालीमा ५४,७३५ र सामाजिक शिक्षामा ५३,१८६ जना ‘ननग्रेडेड’ भएका छन्।
यसपालि पनि ‘लेटर ग्रेडिङ’ प्रणालीअन्तर्गत सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कमा कम्तीमा २७ अंक र प्रयोगात्मकतर्फ २५ पूर्णाङ्कमा कम्तीमा १० अंक अनिवार्य ल्याउनु पर्ने व्यवस्था लागू गरिएको थियो। एसईई परीक्षा शिक्षक आन्दोलनकै बीच चैतमा सम्पन्न भएको थियो। आन्दोलनका कारण नतिजा एक साता ढिलो भएको बोर्डले जनाएको छ।
नतिजा हेर्न नेपाल टेलिकमको १६०० मा एसएमएस वा कल गरेर, www.see.ntc.net.np वा www.see.gov.np मार्फत हेर्न सकिनेछ। बोर्डले दुई विषयमा ननग्रेड भएका विद्यार्थीका लागि साउन २९ गतेबाट ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने जनाएको छ। यस वर्ष विभिन्न ५० भन्दा बढी स्थानमा उत्तरपुस्तिका परीक्षण गरिएको थियो।