Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन प्रधानाध्यापकको भूमिका निर्णायक

सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन प्रधानाध्यापकको भूमिका निर्णायक

दैनिकी न्यूज

१०, माघ २०८२
सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन प्रधानाध्यापकको भूमिका निर्णायक
images

ललितपुर । ललितपुर जिल्लामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यालयप्रति विद्यार्थी आकर्षण बढाउन प्रधानाध्यापकको नेतृत्वकारी भूमिका निर्णायक हुने सरोकारवालाले औँल्याएका छन् । विद्यालयको आन्तरिक व्यवस्थापन, शिक्षण–सिकाइको गुणस्तर र समुदायसँगको सम्बन्ध मजबुत बनाउने जिम्मेवारी प्रधानाध्यापकमै केन्द्रित हुने उनीहरूको निष्कर्ष छ ।

शुक्रबार जिल्ला समन्वय समिति ललितपुर (जिसस) द्वारा ललितपुरमा आयोजित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्बन्धी शैक्षिक बहसमा सहभागी वक्ताहरूले सामुदायिक विद्यालयप्रति घट्दो आकर्षण बढाउन नेतृत्वदायी भूमिकामा रहेका प्रधानाध्यापक सक्रिय हुनुपर्नेमा जोड दिएका हुन् ।

sahabhagi.jpg

कार्यक्रममा जिसस ललितपुरका प्रमुख ऋषिदेव फूँयालले संविधानले शिक्षा नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सबै तहले जिम्मेवारी बहन गर्नुपर्ने बताए । विद्यालयका वास्तविक समस्या प्रधानाध्यापकबाटै सङ्कलन गरी स्थानीय तहसँग समन्वय गर्दै समाधानतर्फ अघि बढ्ने योजना रहेको उनको भनाइ थियो । उनले ललितपुर जिल्लाका ६ वटै स्थानीय तहसँग सहकार्य गरी शिक्षा शाखा प्रमुखलाई जिम्मेवार बनाउने नीति अपनाइने स्पष्ट पारे ।

प्रमुख फूँयालले सामुदायिक विद्यालयको शैक्षिक समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न जिसस रचनात्मक सहयोग र सहकार्यमा तत्पर रहने बताए । प्राप्त भएको सुझावका आधारमा प्रभावकारी शैक्षिक कार्यतालिका तयार गरी व्यवस्थित शिक्षण प्रणाली विकास गरिने पनि उनले जानकारी दिए ।

कार्यक्रममा कोञ्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले शिक्षा क्षेत्रमा सुधार दीर्घकालीन निरन्तर प्रयासबाट मात्र सम्भव हुने बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न स्थानीय तहले समन्वय, सहयोग र सहकार्यलाई प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख प्रकाश सापकोटाले प्रधानाध्यापकलाई विद्यालयको मुख्य नेतृत्वकर्ता भन्दै शिक्षण–सिकाइ उपलब्धि हासिल गर्न, शैक्षिक गुणस्तर सुधार्न र विद्यालयका समस्या समाधान गर्दै उत्कृष्टता कायम गर्न उनीहरूको भूमिका केन्द्रीय हुने बताए । शिक्षामा सुधार सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले स्थानीय तह, विद्यालय नेतृत्व र अभिभावकबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका निर्देशक देवीप्रसाद उपाध्यायले कक्षा कोठाभित्रको वातावरण सुधार नगरी शिक्षण–सिकाइ उपलब्धि हासिल गर्न नसकिने बताए । उनले हाल देशभर कुल बजेटको करिब ११ प्रतिशत मात्र शिक्षा क्षेत्रमा लगानी भइरहेको जानकारी गराउँदै कम्तीमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले आफ्ना अनुभव र अभ्यास साझा गरेका थिए । गोदावरी नगरपालिका चापागाउँस्थित बज्रबाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर महर्जनले १ हजार ३४७ जना विद्यार्थी अध्ययनरत रहेको आफ्नो विद्यालय शैक्षिक गुणस्तरका हिसाबले नगरपालिकामै उत्कृष्ट बन्न सफल भएको जानकारी दिए । २०७४ सालदेखि नमूना विद्यालयका रूपमा परिचित बज्रबाराही माध्यमिक विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि र समुदायको विश्वास आर्जन गर्न सफल भएको उनले बताए ।

महांकाल गाउँपालिका–४ कालेश्वरस्थित बागभैरव प्राविधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलाप्रसाद तिमल्सिनाले अघिल्लो वर्ष शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्दै विद्यार्थी सङ्ख्या र नतिजा सुधारका लागि भौतिक पूर्वाधार विस्तार तथा छात्रबासको व्यवस्था गरिएको जानकारी दिए । विद्यालयलाई अपाङ्गतामैत्री र बालमैत्री बनाइएको र यसमा स्थानीय तहको समन्वय प्रभावकारी रहेको उनको भनाइ थियो ।

कोञ्ज्योसोम गाउँपालिका–२ शङ्खुस्थित मगरगाउँ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरेश शर्मा बजगाईले विद्यालयमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउँदै बसाइँसराइ र अभिभावक वैदेशिक रोजगारीमा हुँदा बालबालिका शहरी क्षेत्रमा केन्द्रित भएकाले विद्यार्थी सङ्ख्या घट्दै गएको बताए ।

त्यस्तै, महालक्ष्मी नगरपालिका–१ स्थित गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयकी प्रधानाध्यापक मीरा श्रेष्ठले विद्यार्थीको आवश्यकता र रुचिमा आधारित सिकाइमा जोड दिइँदै आएको बताइन् । विद्यार्थीबाट प्राप्त आलोचनात्मक सुझावलाई समेत आत्मसात् गर्दै शिक्षण पद्धति सुधारमा ध्यान दिइएको उनको भनाइ थियो ।

महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमराज भट्टराईले सिभिल इन्जिनियरिङतर्फ ४४ जना विद्यार्थी सहित यस वर्ष कुल १ हजार ३५४ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । उनले विद्यालयलाई बालमैत्री, विद्यार्थीमैत्री र सूचना प्रविधिमा आधारित शिक्षण प्रणालीतर्फ अघि बढाइएको बताए ।

कार्यक्रमको समापनमा जिसस ललितपुरका जिल्ला समन्वय अधिकारी हरिनारायण बेल्वासेले सहरी क्षेत्रमा विद्यार्थी सङ्ख्याअनुसार विद्यालयको कमी र ग्रामीण क्षेत्रमा विद्यालयअनुसार विद्यार्थीको कमी रहेको यथार्थ औँल्याए । शिक्षा क्षेत्रमा भएका काम र लगानीको एकीकृत प्रतिवेदन तयार गरी प्रत्येक पालिका र विद्यालयमा पठाउने कार्य जिल्ला समन्वय समितिले गर्ने जानकारी पनि उनले दिए ।

images
प्रकाशित मिति :माघ १०, २०८२ शनिवार - १३:५७:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology