Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बज्रबाराही चापागाउँ अस्पतालको समाजिक परीक्षण सम्पन्न

बज्रबाराही चापागाउँ अस्पतालको समाजिक परीक्षण सम्पन्न

दैनिकी न्यूज

२०, आषाढ २०८२
बज्रबाराही चापागाउँ अस्पतालको समाजिक परीक्षण सम्पन्न
images

ललितपुर । बज्रबाराही चापागाउँ अस्पतालको समाजिक परीक्षण सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा बज्रबाराही चापागाउँ अस्पतालको सहयोगमा बिहीबार सम्पन्न भएको हो ।

NEW ADD 2.png

कार्यक्रममा अस्पताललाई गुणस्तरीय, उत्तरदायी र जनमैत्री सेवाको नमुना बनाउन सरोकारवालाहरुले जोड दिएका थिए । सो कार्यक्रममा अस्पतालको सामाजिक परीक्षणमा सहभागीहरुले अस्पतालको सुधार, सेवा विस्तार र जनविश्वास निर्माणमा जोड दिनुपर्नेमा आवाज उठाएका थिए ।

Bir bahadur.jpg

सामाजिक परीक्षण कार्यक्रममा सम्बोधन गर्दै बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले बज्रबाराही चापागाउँ अस्पताललाई प्रभावकारी अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । “महानगर वा नगरपालिकाले आफ्नै स्रोतले पनि अस्पताल सञ्चालन गर्न सक्छ, तर स्रोत र साधनको अभावमा गाउँपालिकालाई गाह्रो पर्छ,” उनले भने, “नागरिकको हीतलाई हामीले ध्यान दिनुपर्छ, कुनै पनि विरामीले यहाँ आएपछि सेवा नपाउने अवस्था हुनुहुँदैन, जनचेतनाको माध्यमबाट यहाँको सेवाका बारेमा जानकारी दिंदै रोग लागेर उपचार गर्नुभन्दा रोग न्यूनीकरणतर्फ ध्यान दिनुपर्छ ।”

bhaskar thapa.jpg

गोदावरी नगरपालिका वडा नंं. १३ का अध्यक्ष भास्कर थापाले आफूले थाहा पाउँदा ‘ससिखेल हेल्टपोष्ट’ भनेर चिनिने यो अस्पताल आज प्रदेशस्तरीय अस्पतालका रुपमा विकास भएको उल्लेख गर्दै यस क्षेत्रका स्थानीयहरुको विश्वासिलो सेवा प्रवाह जरुरी भएको बताए ।

nil bahadur desar.jpg

वडा नं. ११ का अध्यक्ष निलबहादुर देसारले विरामीको चाप बढ्दासमेत अस्पतालमा सेवा लिनेको संख्या घट्नु चिन्ताको विषय भएको बताए। उनले जनतामा अस्पतालप्रति विश्वास कायम गर्न प्रभावकारी सेवा प्रवाह जरुरी छ भने ।

ram hari ghimire.jpg

अस्पताल सञ्चालक समितिका अध्यक्ष रामहरि घिमिरेले सामाजिक परीक्षणबाट आएका सुझावलाई सुधारको अवसरको रूपमा लिएर कार्ययोजनामा समावेश गरिने जानकारी गराए । “हामी राजनीतिमा होइन, सेवामा केन्द्रित छौं, समितिले बनाएको योजना अनुसार साउनदेखि सुधारका काम हुन्छ ।’’ उनले भने ।

मेडिकल सुपरिटेन्डेन्ट डा. अंकुर पौडेलले अस्पतालमा पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै ९८ प्रकारका औषधि सधैं उपलब्ध नभएको, एम्बुलेन्स बिग्रिएको, अस्पतालको नाम नहुँदा सेवा प्रवाहमा समस्या हुनेलगायतका चुनौती प्रस्तुत गरे । “सेवाको गुणस्तरमा ध्यान दिँदै टोकन प्रणाली, सर्जरी सेवा, नाक कान घाँटीको उपचार जस्ता क्षेत्रमा सुधार ल्याएका छौं,” उनले जानकारी दिए ।

amar dip.jpg

डा. अमरदीप शाहले विगतको तुलनामा भर्ना हुने विरामीको संख्या उल्लेखनीय रूपमा बढेको बताए। “विशेषज्ञ सेवाको पहुँच वृद्धि भएको छ, तर वीमा भुक्तानी नआउनुले समस्या बढाएको छ,” उनको भनाइ थियो ।

Shivahari.jpg

अस्पतालले प्रवाह गरेको सेवा, सुविधा र गुणस्तरीयताको बिषयमा पत्रकार शिवहरि घिमिरेले प्रस्तुतिकरण गरेका थिए । उनँले अस्पतालको सेवा प्रवाह गर्दा देखिएको समस्या र समाधानका उपायहरु पनि प्रस्तुतीकरणमा देखाएका थिए । अस्पतालमा केही समस्या भए पनि ठूलो समस्या नभएको उनको दावी थियो ।

shivaraj sanjel.jpg

जनभावना क्याम्पसका प्रमुख शिवराज सञ्जेलले भने, ‘‘पाटन अस्पतालबाट जिल्ला अस्पताल निकालेर ल्याउन समस्या थियो, हामीले ल्यायौं । स्थानीय पालिकाले नै सञ्चालन गरेको अवस्थामा प्रमोसन भएर काम भएको छ । गोदावरी क्षेत्रको मोडेल अस्पतालको रुपमा विकास होस् । प्रदेशमा गएर लबिङ गर्ने ल्याउनेमा जोड दिनुपर्छ । थप इन्सेटिभ दिएर पनि त काम गर्न सकिन्छ नि !’’ विगतको तुलनामा सेवा लिनेको संख्या बढेपनि पर्याप्त हुन नसकेको औल्याउदै सञ्जेलले अस्पतालले प्रदान गर्ने सेवाको हामी मानिस विश्वास नभएकाले योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए । ‘‘विरामीको विश्वास बनाउन प्रचारप्रसार आवश्यक छ, नयाँ मोडेलको अस्पतालका रुपमा विकास गराउनुपर्नेछ । सरकार र समुदायको समन्वयमा विकास गर्नुपर्ने छ । विरामीको चाप अनुसार सहज हुने प्रणालीको विकास गरेर काम गर्नुपर्ने छ ।’’ उनले भने ।

Prabhu.jpg

अग्रज पत्रकार प्रभुनारायण बस्नेतले सेवा सन्तुष्टि दिने खालको भएपनि प्रचारप्रसार नहुँदासम्म गाह्रो हुने बताए । उनले मानिसलाई वातावरण र उपचार गर्ने मानिसको व्यवहारले प्रभाव पार्ने कुरा औल्याएका थिए । स्वस्थ समाज निर्माणका लागि सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । विरामी भएको मानिसलाई मानसिक रुपमा सन्तुष्ट बनाउँदा पनि रोग कम हुने भन्दै सकरात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । विरामीको मानसिकतालाई सकरात्मक प्रभाव पार्नेगरी लाग्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको अध्यक्षता भएको सामाजिक परीक्षण कार्यक्रममा पत्रकार, सेवाग्राही, जनप्रतिनिधि, डाक्टर, नर्सलगायतका नागरिक समाजका ७९ जनाको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ २०, २०८२ शुक्रवार - ०५:५९:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology