Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमः विद्यार्थीको अभिभावक बनेका नर्स आफैँ समस्यामा

ललितपुरमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमः विद्यार्थीको अभिभावक बनेका नर्स आफैँ समस्यामा

दैनिकी न्यूज

१०, पौष २०८२
ललितपुरमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमः विद्यार्थीको अभिभावक बनेका नर्स आफैँ समस्यामा
images

ललितपुर । विद्यालय परिसरभित्र चिसो ज्वरोले काँपिरहेका विद्यार्थीलाई सान्त्वना दिँदै औषधि खुवाउने, खेलमैदानमा लडेर घाइते भएका बालबालिकाको घाउ सफा गर्ने र किशोरकिशोरीका संवेदनशील स्वास्थ्य समस्यामा अभिभावकझैँ साथ दिने विद्यालय नर्सहरू आफैँ समस्यै समस्यामा जेलिएका छन् ।

विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि सुरु गरिएको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको दाबी गरिँदै आए पनि कार्यक्रमका मुख्य कडी विद्यालय नर्सहरू भने दरबन्दी, तलब, कार्यस्थल र सम्मानको अभावमा काम गर्न बाध्य छन् ।

health.jpeg

जनस्वास्थ्य कार्यालय ललितपुरले बुधबार हरिभरभवनको परिवार नियोजन संघको सभाहलमा आयोजना गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ समीक्षा बैठकमा सहभागी विद्यालय नर्सहरूले आफ्ना पीडा खुलस्त राखे । उनीहरूको भनाइमा, विद्यार्थीको जीवन र स्वास्थ्य जोगाउने जिम्मेवारी बोकेका नर्सहरू स्वयं अनिश्चित करार, न्यून सेवा सुविधा र असहयोगी कार्य वातावरणको मारमा परिरहेका छन् ।

“काम गर्ने वातावरण छैन, अपेक्षा भने धेरै”
ललितपुर महानगरपालिका वडा नं. २५ भैँसेपाटीस्थित आदर्शशौल माध्यमिक विद्यालयकी नर्स सरस्वती शाक्यका अनुसार विद्यालयमा किशोरकिशोरीका स्वास्थ्य समस्या समाधान गर्न सकारात्मक वातावरणको अभाव छ ।

“विद्यालयमा शिक्षा र स्वास्थ्यबीच समन्वय नहुँदा हाम्रो काम प्रभावकारी हुन सकेको छैन,” उनी भन्छिन्, “शिक्षक, विद्यालय प्रशासन र अभिभावकलाई समेत स्वास्थ्यसम्बन्धी अभिमुखीकरण आवश्यक छ ।”

शाक्यका अनुसार मानसिक स्वास्थ्य, महिनावारी, पोषणजस्ता विषयमा विद्यार्थी खुल्न चाहन्छन्, तर उचित कक्ष, गोपनीयता र सहयोग नहुँदा समस्या समाधान गर्न कठिन हुन्छ ।

करारको असुरक्षा र कार्यस्थलको अभाव
बालकुमारी माध्यमिक विद्यालय, सुनाकोठीकी नर्स अनु तिमल्सिना आर्थिक वर्ष २०७७÷७८ देखि कार्यक्रममा आबद्ध छिन् । पाँच वर्षको अनुभव सुनाउँदै उनी भन्छिन्, “हरेक छ–छ महिनामा करार नवीकरण गर्दा मानसिक तनाव हुन्छ । कहिले काम जाने हो भन्ने अनिश्चितताले समर्पित भएर काम गर्न गाह्रो हुन्छ ।”

उनका अनुसार धेरै विद्यालयमा प्राथमिक उपचार कक्ष छैन, बालमैत्री शौचालयको व्यवस्था छैन, आवश्यक औषधि र सामग्री अपुग छन् । “हजारभन्दा बढी विद्यार्थीको जिम्मेवारी एक जना नर्सले लिनुपर्दा गुणस्तरीय सेवा दिन सम्भव हुँदैन,” तिमल्सिना बताउँछिन् ।

अभिभावक सचेतना र खाजा व्यवस्थामा कमजोरी
बागमती गाउँपालिका वडा नं. ७ गिम्दीस्थित जनक माध्यमिक विद्यालयकी नर्स धना विष्ट विद्यार्थीको स्वास्थ्यमा अभिभावकको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताउँछिन् ।

“खाजा खर्च तीन–तीन महिनामा मात्र उपलब्ध हुँदा विद्यार्थीको पोषण र विद्यालयप्रतिको आकर्षणमा अपेक्षित सुधार देखिँदैन,” उनी भन्छिन् । उनका अनुसार नियमित खाजा, सरसफाइ र स्वास्थ्य सचेतना कार्यक्रमले विद्यार्थीको उपस्थितिदर र सिकाइ क्षमतामा ठूलो प्रभाव पार्न सक्छ ।

विद्यार्थीअनुकूल संरचना छैन
बागमती–५, इकुडोलस्थित शारदा शिक्षा सदनकी नर्स यशोदा कुशवाह, महेन्द्र भृकुटी माविकी सजना महर्जन र नखिपोटस्थित महालक्ष्मी माविकी नर्स मनकामना खरेलले विद्यालय संरचना विद्यार्थीअनुकूल नहुँदा समस्या झन् जटिल बनेको बताए ।

उनीहरूका अनुसार विद्यार्थीको उमेरअनुसार ‘सेक्सन’ छुट्याउने व्यवस्था, पर्याप्त खेलमैदान र विद्यार्थी सङ्ख्याअनुसार नर्सको व्यवस्था नहुँदा स्वास्थ्य सेवा सीमित बनेको छ ।

“नीति बनाउने ठाउँमै विज्ञ छैनन्”
जनस्वास्थ्य कार्यालय ललितपुरका कार्यालय प्रमुख डा. खगेश्वर गेलालले समस्या स्वीकार गर्दै नीति निर्माण तहमा विषयविज्ञको अभाव मुख्य चुनौती भएको बताए ।

“विद्यालय नर्सका कारण धेरै विद्यार्थीको ज्यान बचेको छ, अध्ययनमा सहजता आएको छ,” उनी भन्छन्, “तर उहाँहरू आफैँ समस्यामा हुनु दुःखद हो । अब कार्यविधि र निर्देशिकाका कमजोरी सुधार गर्दै नर्सका समस्या समाधानमा गम्भीर हुनुपर्छ ।”

उनका अनुसार बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रममा रु ५४ करोड बजेट विनियोजन गरेको छ । प्रदेशका १३ जिल्लाका ८४८ विद्यालयमा कार्यक्रम लागू भइसकेको छ । उनका अनुसार ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम बागमती प्रदेशको गौरवको कार्यक्रम रहेको उल्लेख गरे ।

ललितपुरमा ५४ विद्यालय, ४५ नर्स
स्वास्थ्य कार्यालय ललितपुरकी तथ्याङ्क अधिकृत दिपा पाण्डेका अनुसार ललितपुर जिल्लाका ५४ विद्यालयमा कार्यक्रम लागू भएको छ भने हाल ४५ जना नर्स कार्यरत छन् ।

स्थानीय तहका प्रतिनिधिहरूले पनि कार्यक्रमको प्रभावकारिता स्वीकार गरेका छन् । महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले विद्यालय नर्सले बालबालिकाको स्वास्थ्यमा खेलेको भूमिका अत्यन्त सकारात्मक रहेको बताए ।

महाकाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भरतबहादुर खड्काले विद्यालय नर्सलाई अन्य स्थायी–अस्थायी कर्मचारीसरह सेवा सुविधा उपलब्ध गराइनुपर्नेमा जोड दिए ।

बागमती गाउँपालिका शिक्षा शाखा प्रमुख प्रेमकुमार पुरीले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र प्रशासनसँग समन्वय गरेर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम प्रभावकारी, तर सुधार अपरिहार्य
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा २० विद्यालयबाट सुरु गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम आज प्रदेशभर विस्तार भएको छ । कार्यक्रम प्रभावकारी देखिए पनि नर्सहरूको पेशागत सुरक्षा, सम्मान र सेवा सुविधा सुनिश्चित नगरेसम्म यसको दीर्घकालीन सफलता चुनौतीपूर्ण देखिन्छ ।

विद्यार्थीको स्वास्थ्य अभिभावक बनेका विद्यालय नर्सहरूको आवाज सुन्ने र उनीहरूको समस्या समाधान गर्ने जिम्मेवारी अब राज्य र स्थानीय तहकै काँधमा आएको छ ।

images
प्रकाशित मिति :पौष १०, २०८२ बिहिवार - १७:२६:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology