ललितपुर । जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाको दुर्गम क्षेत्र कपिराङमा भोलि (माघ १२ गते, सोमबार) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। महाँकाल गाउँपालिका वडा नं. ६ अन्तर्गत पर्ने ठूलादुर्लुङ–कपिराङस्थित बागमती आधारभूत विद्यालय परिसरमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म शिविर सञ्चालन गरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार शिविरमा विशेषगरी महिलाको स्वास्थ्यलाई केन्द्रमा राखेर विभिन्न परीक्षण तथा उपचार सेवा प्रदान गरिनेछ। ३० वर्षमाथिका महिलाहरूका लागि एचपिभी डीएनए विधिमार्फत पाठेघरको मुखको क्यान्सर परीक्षण, महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी परीक्षण, तथा स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि जाँच गरिने उनले जानकारी दिए।
त्यसैगरी, शिविरमा पाठेघर तथा स्तनको अल्ट्रासाउण्ड, भिडियो एक्स–रे, सुगर (मधुमेह), रक्तचाप, मिर्गौला रोग जस्ता नसर्ने रोगको परीक्षण पनि निःशुल्क रूपमा उपलब्ध गराइनेछ। स्वास्थ्य परीक्षणका क्रममा आवश्यक परामर्श सेवा समेत प्रदान गरिने जनाइएको छ।

परिवार नियोजन सेवाअन्तर्गत सन्तानको रहर पूरा भइसकेका दम्पतीहरूका लागि पुरुषमा स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा उपलब्ध गराइनेछ भने महिलाहरूका लागि इम्प्लान्ट तथा आईयुसिडी जस्ता अस्थायी परिवार नियोजनका साधनसमेत निःशुल्क रूपमा प्रदान गरिने डा. गेलालले बताए।
डा. गेलालले कपिराङ क्षेत्र ललितपुर जिल्लाकै सबैभन्दा दुर्गम स्थानमध्ये एक भएकाले यहाँका स्थानीय नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएको उल्लेख गर्दै, शिविरमार्फत प्रदान गरिने सेवाको अधिकतम लाभ लिन स्थानीयवासीलाई आग्रह गरे। “दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो शिविर आयोजना गरिएको हो,” उनले भने।
स्थानीय तह, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायको समन्वयमा आयोजना हुने शिविरले कपिराङ क्षेत्रका महिला, बालबालिका तथा अन्य स्थानीय बासिन्दाको स्वास्थ्य अवस्थाको पहिचान तथा सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।