ललितपुर । जनस्वास्थ्य कार्यालय ललितपुरले नसर्ने रोगको समयमै पहिचान र रोकथाम गर्ने उद्देश्यसहित माघ महिनाभर निःशुल्क स्वास्थ्य परीक्षण (स्क्रिनिङ) अभियान सञ्चालन गरिरहेको छ। कार्यालयले माघको पहिलो सातादेखि नै अभियानलाई तीव्रता दिएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्षदेखि हरेक वर्ष फागुन महिनाभर नसर्ने रोग पहिचान गर्ने महिना घोषणा गरेको भए पनि यसपटक फागुन महिनामा प्रतिनिधिसभा निर्वाचन पर्ने भएकाले जनस्वास्थ्य कार्यालय ललितपुरले अभियान माघ महिनाबाटै सुरु गरेको हो।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार नसर्ने रोगको पहिचान र उपचारमा ढिलाइ हुँदा नागरिकको ज्यानसमेत जोखिममा पर्ने भएकाले अभियानलाई समयमै अघि बढाइएको हो। “नियमित तालिका अनुसार फागुनमा अभियान सञ्चालन गर्ने योजना थियो, तर निर्वाचनका कारण नागरिकको सहभागिता प्रभावित हुन सक्ने भएकाले माघदेखि नै निःशुल्क परीक्षण सुरु गरेका हौं,” उनले भने।

कार्यालयले जिल्लाभरका स्थानीय तह, स्वास्थ्य संस्था तथा पालिकासँग समन्वय गरेर ग्रामीण तथा दुर्गम क्षेत्रलाई लक्षित गरी स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको छ। शिविरमार्फत रक्तचाप, मधुमेह, थाइराइड, मिर्गौला, मुटु तथा रक्तनलीसम्बन्धी रोग, क्यान्सर, फोक्सो तथा स्वासप्रश्वाससम्बन्धी रोगहरूको परीक्षण भइरहेको छ।
“दक्षिण ललितपुरका पालिकालाई विशेष प्राथमिकतामा राखेर थुप्रै स्वास्थ्य शिविर सञ्चालन गरेका छौं,” डा. गेलालले भने, “शिविरबाट धेरै नागरिकमा नसर्ने रोग पत्ता लागेको छ। रोग पहिचानपछि समयमै उपचारका लागि प्रेरित गरी उनीहरूको जीवनस्तर र आयु बढाउन यो अभियान प्रभावकारी बनेको छ।”
उनका अनुसार परीक्षणका क्रममा जटिल प्रकृतिका रोग देखिएमा सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारका लागि सहजीकरणसमेत गरिएको छ। नसर्ने रोग बढ्नुको मुख्य कारण धुम्रपान, अस्वस्थ वातावरण, असन्तुलित खानपान र बिग्रँदो जीवनशैली रहेको उनले बताए।
यसैक्रममा सोमबार जनस्वास्थ्य कार्यालय परिसरमै ललितपुरका करिब ४० जना स्थानीय पत्रकारहरूकोसमेत निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। कार्यालयका अनुसार सञ्चारकर्मीहरूलाई पनि नियमित स्वास्थ्य परीक्षणप्रति सचेत गराउने उद्देश्यले यो कार्यक्रम गरिएको हो।
गत वर्षदेखि स्वास्थ्य मन्त्रालयले निरोधात्मक स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पहलमा नसर्ने रोगविरुद्ध प्रतिकारात्मक अभियानस्वरूप निःशुल्क स्क्रिनिङ कार्यक्रम घोषणा गरेको थियो। स्वास्थ्य मन्त्रालयले मिति २०८१ मंसिर १६ गते यससम्बन्धी निर्देशिका स्वीकृत गरेको छ।
उक्त निर्देशिकामा हरेक वर्ष फागुन १ गतेदेखि ३० गतेसम्म नसर्ने रोग पहिचानका लागि स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने तालिका उल्लेख गरिएको छ। यद्यपि विशेष परिस्थितिलाई मध्यनजर गर्दै ललितपुरमा यस वर्ष माघ महिनादेखि नै अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
जनस्वास्थ्य कार्यालयले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षणको अवसरको उपयोग गर्न आग्रह गर्दै समयमै रोग पहिचान भएमा उपचार सहज हुने र ज्यान जोगाउन सकिने बताएको छ।