ललितपुर । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १० देखि १३ प्रतिशत महिला पोलिसिस्टिक ओभरी सिन्ड्रोमजस्ता हर्मोनल समस्याबाट पीडित छन् । तीमध्ये करिब ७० प्रतिशत महिलामा समस्या पहिचान नै हुन सकेको छैन । त्यस्तै, तथ्यांकले प्रत्येक ६ जना महिलामध्ये १ जना बाँझोपनको समस्याबाट प्रभावित हुने गरेको देखाएको छ ।
महिलामा बढ्दो यस्ता स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेष स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ । चिकित्सालयका कार्यालय प्रमुख डा. पुनम नेपालकाअनुसार प्रत्येक महिनाको दोस्रो र चौथो मङ्गलबार बिहान १० बजेदेखि स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने ।
यस सेवाअन्तर्गत पाठेघरसम्बन्धी समस्या, तल्लो पेट दुख्ने वा घोच्ने, महिनावारी अनियमित हुने, हर्मोनल गडबडी, निःसन्तान तथा बाँझोपनजस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट उपचार गरिनेछ । साथै, महिनावारीको समयमा अत्यधिक रक्तस्राव हुने, सेतो पानी बग्ने जस्ता समस्याका लागि पनि परामर्श, प्याथोलोजी ल्याब परीक्षण, आवश्यक आयुर्वेदिक औषधि तथा विभिन्न थेरापी सेवा उपलब्ध गराइने चिकित्सालयले जनाएको छ ।
प्रसूति महिलाका लागि विशेष परामर्श, मासिक डाइट प्लान, नियमित स्वास्थ्य परीक्षण तथा योग अभ्याससमेत सिकाइने व्यवस्था गरिएको छ । त्यस्तै, महिनावारी बन्द हुने उमेर (मेनोपज) मा देखिने चिडचिडापन, मुड स्विङ्स, शरीर दुख्ने, धेरै रगत बग्ने, निन्द्रा नलाग्ने, चिन्ता तथा डिप्रेसनजस्ता समस्याको पनि उपचार उपलब्ध रहेको जानकारी दिइएको छ ।
चिकित्सालयले आयुर्वेदिक पद्धतिबाट प्राकृतिक र दीर्घकालीन समाधान प्रदान गर्ने उद्देश्यका साथ सेवा विस्तार गरिएको जनाएको छ । विशेषज्ञहरूले महिलाहरूलाई यस्ता समस्यालाई बेवास्ता नगरी समयमै परीक्षण र उपचार गराउन आग्रह गरेका छन् ।