Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शिरोधारा सेवाप्रति आकर्षण बढ्दो, ३१६ जनाले लिए सेवा

शिरोधारा सेवाप्रति आकर्षण बढ्दो, ३१६ जनाले लिए सेवा

दैनिकी न्यूज

२२, बैशाख २०८३
शिरोधारा सेवाप्रति आकर्षण बढ्दो, ३१६ जनाले लिए सेवा
images

ललितपुर । परम्परागत आयुर्वेदिक उपचार पद्धति शिरोधारा सेवाप्रति पछिल्लो समय सेवाग्राहीहरूको आकर्षण बढ्दै गएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तल्छिखेल ललितपुरमा उपलब्ध यस सेवाबाट चालु आर्थिक वर्षमा ३१६ जनाले लाभ लिएका छन् । कार्यालय प्रमुख डा. पुनम नेपालका अनुसार शिरोधारा मानसिक तथा स्नायु प्रणालीलाई शान्त पार्ने प्रभावकारी विधिका रूपमा प्रयोग हुँदै आएको छ।

शिरोधारा दुई शब्द ‘शिरो’ (टाउको_ र ‘धारा’ (प्रवाह) मिलेर बनेको हो। यस उपचारमा औषधीय गुणयुक्त न्यानो तेल, दूध वा अन्य तरल पदार्थलाई निधारको बीच भाग (आज्ञा चक्र) मा निरन्तर रूपमा खन्याइन्छ। सामान्यतया यो प्रक्रिया ३० देखि ६० मिनेटसम्म सञ्चालन गरिन्छ।

चिकित्सकका अनुसार शिरोधाराले तनाव, चिन्ता तथा डिप्रेसन कम गर्न मद्दत गर्नुका साथै अनिद्राको समस्या घटाउन प्रभावकारी देखिएको छ। यसले माइग्रेन तथा सामान्य टाउको दुखाइबाट राहत दिने, मस्तिष्कलाई शान्त बनाउने तथा स्मरणशक्ति र एकाग्रता वृद्धि गर्ने विश्वास गरिएको छ।

यद्यपि, सबै अवस्थामा यो उपचार उपयुक्त नहुन सक्ने चिकित्सकहरूले बताएका छन्। टाउकोमा चोटपटक वा शल्यक्रिया भएको अवस्थामा, उच्च ज्वरो वा संक्रमण हुँदा, गर्भावस्थाको प्रारम्भिक चरणमा, घाँटीसम्बन्धी गम्भीर समस्या हुँदा तथा छालामा संक्रमण वा एलर्जी भएको अवस्थामा शिरोधारा नगर्न सुझाव दिइएको छ। साथै, मदिरा वा नसालु पदार्थ सेवन गरेको अवस्थामा पनि यो उपचार गर्न नहुने चिकित्सकहरूको भनाइ छ।

चिकित्सकको सल्लाहबिना शिरोधारा नगर्न आग्रह गर्दै सम्बन्धित निकायले योग्य आयुर्वेदिक चिकित्सकको निगरानीमा मात्र सेवा लिन सुझाव दिएको छ। चिकित्सालयका अनुसार ६ दिनको शिरोधारा सेवाको शुल्क २०० रुपैयाँ तोकिएको छ र सेवा नियमित रूपमा उपलब्ध रहेको जनाइएको छ।

images
प्रकाशित मिति :बैशाख २२, २०८३ मंगलवार - २०:३८:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology