ललितपुर । सरकारले छिट्टै राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवको छनोट गर्ने भएको छ । नयाँ सदस्यसचिवका लागि आवेदन दिने २७ जनाबाट छनौट गरिने प्रक्रिया अन्तिम चरणमा पुगेको युवा तथा खेलकुद मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । नयाँ खेलकुद ऐन जारी भएपछि हालका सदस्यसचिव रमेश सिलवालले एक वर्ष भन्दा बढी अवधि काम गर्न पाएनन् । मन्त्रालयले सदस्यसचिवका लागि खुला दरखास्त आह्वान गरेको थियो जसमा २७ जनाको आवेदन परेको हो । सो आवेदन दिनेहरु मध्ये तीनजना छनौट गर्न मन्त्रालयले सिफारिस समिति गठन गरेको थियो । समितिले सरकारलाई एक महिलासहित तीन जनाको नाम बुझाउने अन्तिम तयारी गरेको छ । स्रोतका अनुसार अब बस्ने मन्त्रीपरिषद् बैठकले सदस्यसचिवको छनौट गर्नेछ ।
यी हुन् मुख्य दाबेदार
सदस्यसचिवका लागि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल पुनः दाहोरिने संभावना रहेको कतिपयले बताइरहेका बेला अर्का प्रमुख दाबेदार रहेका छन् मेघराज पौडेल । नेकपाका खेलकुद विभागसँग आवद्ध पौडेल प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीका झापाको निर्वाचन क्षेत्रका बासिन्दा हुन् । ओली समूहमै रहेका पौडेललाई खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को दह्रो साथ रहेको छ ।
लामो समयदेखि पर्यटकीय संभावना बोकेका खेलहरुको संरक्षण र प्रवद्र्धनमा उनी सक्रिय छन् ।
उनी हाल पर्वतारोहण खेलकुद महासंघसँगै नेपाल स्पोर्टस क्लाईम्बिङ संघमा महासचिव छन्। उनी तत्कालीन एमालेको खेलकुद महासंघको महत्वपूर्ण जिम्मेवारीमा थिए।
उनी खेलकुदमा विभिन्न योजना र रणनीति बनाउने र त्यसलाई कार्यान्वयन गर्ने दख्खल राख्छन् । पौडेलले अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलनमा सहभागिता जनाएर कार्यपत्र प्रस्तुत गर्दै आएका छन् ।
२०१४ मा फिलिपिन्समा सम्पन्न एशिया प्यासिफिक ड्राइभ टुरिजम कन्फ्रेन्समा उनले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, २०१५ अप्रिलमा नेपालमै भएको एफआईए स्पोर्टस् रिजनल कन्फ्रेन्समा उनी कार्यक्रम संयोजक थिए ।
पौडेलले आफ्नो ४ वर्षे कार्ययोजना समेत बनाएका छन् । प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली योजनालाई सार्थक पार्न खेल क्षेत्रबाट सकिने योजना रहेको बताउने उनले खेलाडीको क्षमताबृद्धि मात्रै होइन आजीवन सुविधा दिनेगरी योजना बनाएको दाबी गर्छन । नेपालमा खेल क्षेत्र र यसमा लागेका व्यक्तिहरुलाई लगानी नगरिएको भन्दै उनले खेलकै माध्यमबाट पर्यटक भित्रयाउन सकिने महत्वकांक्षी लक्ष अघि सारेका छन् । पार्टीभित्रकै खेल क्षेत्रमा आवद्ध भएको, प्रधानमन्त्री ओलीसँग निकट र योजना समेत भएकाले ओलीले उनलाई अवसर दिने संभावना उच्च देखिन्छ ।
त्यसो त निवर्तमान सदस्य–सचिव रमेश सिलवालपनि बलियो दाबेदार हुन् । गत मंसिर १४ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)को भव्य आयोजना र त्यस प्रतियोगितामा नेपालको ऐतिहासिक प्रदर्शनले उनलाई सदस्य सचिवमा दोहोरिने बाटो रहेको केहीको विश्लेषण छ । तर, साग आयोजनाको आर्थिक पाटो पारदर्शी हुन नसक्दा उनी विवादित छन् । साग आयोजनाका कार्यकारी प्रमुख समेत रहेका उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सिलवालले प्रतियोगिता सकिएको ९० दिनभित्रै हरहिसाब सार्वजनिक गर्ने घोषणा गरे तर कार्यान्वयन गरेका छैनन् । नेकपाका नेताहरुले उनलाई त्यति रुचाउँदैनन् ।