काठमाडौं । बुधबार विभिन्न प्रयोगशालामा १० हजार ४८१ वटा पिसिआर परीक्षण गर्दा थप ४८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जनासहित १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल आइसोलेसनमा ७ हजार ६ सय १३ जनाको उपचार भइराखेको छ ।
गत २४ घण्टाभित्र ६४ जना निको भई घर फर्किएका छन् । हालसम्म १६ हजार ७२८ जना उपचार गरी घर फर्किएका छन् ।
आज कोरोना भाईरसको संक्रमणबाट ८ जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा काठमाडौंका ७८ वर्षका महिला, धादिङका ३२ वर्षको पुरुष, धनुषाका ७२ वर्षको पुरुष र ३८ वर्षको महिला, सप्तरीका ७२ वर्षको पुरुष, मोरङका ५५ वर्षको पुरुष, कपिलबस्तुका ४२ वर्षको पुरुष र बाराका ७५ वर्षको महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।