काठमाडौं । शनिबार विभिन्न वटा प्रयोगशालामा १२ हजार २४७ वटा पिसिआर परीक्षण गर्दा थप ६४१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । हालसम्म ५ लाख १७ हजार ९०७ जनाको पिसिआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका १२६, ललितपुरका ३८ र भक्तपुरका ८ जनासहित १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार २४३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ७२४ जना र होम आइसोलेसनमा बस्नेको संख्या ४९७ रहेको छ ।
गत २४ घण्टाभित्र १३४ जना निको भई घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।
संक्रमितमध्ये आइसीयूमा १०० जनाको उपचार भइराखेको छ भने ६ जना भेन्टिलेटरमा रहेका छन्। मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित भएका जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्।
संक्रमण शून्यमा झरेका पाँच जिल्ला छन्। प्रवक्ता गौतमका अनुसार संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्यमा झरेको हो।
नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १०४ पुगेको छ।