काठमाडौं । सोमबार विभिन्न प्रयोगशालामा ११ हजार ५२० वटा पिसिआर परीक्षण गर्दा थप ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमा महिला १७३ र पुरुष ४०८ रहेका छन् । हालसम्म ५ लाख २९ हजार ४२७ जनाको पिसिआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कुल संक्रमिको संख्या २७ हजार २४१ पुगेको छ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंका १३९, ललितपुरका १५ र भक्तपुरका १४ जनासहित १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार १९८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ९ हजार ६३९ जना र होम आइसोलेसनमा बस्नेको संख्या २ हजार ६०१ रहेको छ ।
संक्रमितमध्ये ५ जना भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित भएका जिल्लामा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन् ।
संक्रमण शून्यमा झरेका पाँच जिल्ला छन्। प्रवक्ता गौतमका अनुसार संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्यमा झरेको हो ।
गत २४ घण्टाभित्र १६० जना निको भई घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या १७ हजार ७९५ पुगेको छ ।
यसैगरी काेराेनाबाट पछिल्लाे २४ घण्टामा थप ३ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेहरूकाे संख्या १०७ जना पुगेकाे छ ।